images
images
  • नाफामा उछाल, गुडविल र बेस्ट फाइनान्सको निष्क्रिय कर्जा घट्यो

    काठमाडौं– बैंक तथा वित्तीय संस्थामा केही वर्षयता देखिएको कर्जा असुलीको समस्या क्रमशः कम हुँदै जाँदा वित्त कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिन थालेको छ। यसअघि कर्जा नोक्सानी व्यवस्थामा राखिएको रकम फिर्ता ल्याउन पाएपछि केही वित्त कम्पनीको नाफा गुणात्मक रूपमा बढेको हो।

    वित्त कम्पनीहरूमध्ये गुडविल फाइनान्स र बेस्ट फाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा उल्लेख्य नाफा वृद्धि गरेका छन्। दुवै कम्पनीको निष्क्रिय कर्जासमेत घटेको छ।

    गुडविल फाइनान्सको नाफा २७ गुणा बढ्यो

    २०५५ सालदेखि सेयर कारोबार हुँदै आएको गुडविल फाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५१ लाख रुपैयाँ मात्रै थियो। यस आधारमा कम्पनीको नाफा करिब २७ गुणाले बढेको हो।

    कम्पनीको मुख्य आम्दानीको आधार खुद ब्याज आम्दानी पनि ६३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ३१ करोड रुपैयाँ पुगेको छ।

    शुल्क तथा कमिसनबाट हुने आम्दानी र अन्य आम्दानीमा समेत सुधार भएको कम्पनीले जनाएको छ। यसैबीच, यसअघि कर्जा नोक्सानी व्यवस्थामा राखिएको ४ करोड ५ लाख रुपैयाँ फिर्ता ल्याएपछि नाफामा थप वृद्धि भएको हो।

    गुडविलको वितरणयोग्य नाफा २२ करोड रुपैयाँ पुगे पनि पुरानो सञ्चित नोक्सानीका कारण यस वर्ष लाभांश वितरण गर्ने अवस्था छैन। अघिल्लो वर्ष ५८ करोड ८५ लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी घटेर अझै करिब ३६ करोड रुपैयाँ कायम छ।

    कम्पनीले आर्थिक वर्ष २०७७/७८ यता लाभांश वितरण गर्न सकेको छैन।

    यता, गुडविलको निष्क्रिय कर्जामा पनि सुधार आएको छ। गत चैतमा ९.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा असारसम्म घटेर ६.२७ प्रतिशतमा झरेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५४ पैसा मात्रै थियो। प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ।

    बुधबार गुडविल फाइनान्सको सेयर ५९१ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ७३८ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ५२८ रुपैयाँमा झरेको थियो।

    बेस्ट फाइनान्सको नाफा ३४ गुणा बढ्यो

    समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स सुधारपछि बेस्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको हो। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष २० लाख रुपैयाँ मात्रै नाफा गरेको कम्पनीको नाफा यसपटक करिब ३४ गुणाले बढेको हो।

    यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ११ करोड रुपैयाँमा आएको छ।

    नाफामा मुख्य योगदान कर्जा नोक्सानी व्यवस्थामा राखिएको रकम फिर्ता आउनुले गरेको छ। कम्पनीले यसअघि नोक्सानी व्यवस्थामा राखेको १४ करोड ९१ लाख रुपैयाँ फिर्ता ल्याएको छ।

    बेस्ट फाइनान्सको सञ्चित नोक्सानीसमेत घटेको छ। अघिल्लो वर्ष ५५ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी घटेर ४५ करोड रुपैयाँमा झरेको छ। सञ्चित नोक्सानी कायमै रहेकाले कम्पनीले यस वर्ष पनि लाभांश वितरण गर्न सक्ने अवस्था छैन।

    बेस्ट फाइनान्सले आर्थिक वर्ष २०६७/६८ यता लाभांश वितरण गर्न सकेको छैन।

    कम्पनीको निष्क्रिय कर्जामा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १४.४३ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको असारसम्म घटेर १०.७० प्रतिशतमा आएको छ।

    अघिल्लो समय ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले ७ रुपैयाँ ८४ पैसा धनात्मक भएको छ। प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ रहेको छ।

    बेस्ट फाइनान्सको सेयर मूल्य पछिल्लो एक वर्षमा अधिकतम ५६२ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ४११ रुपैयाँमा कारोबार भएको थियो। बुधबार कम्पनीको सेयर ४७६ रुपैयाँमा कारोबार भएको छ।

    निष्क्रिय कर्जा घट्नु र कर्जा नोक्सानी व्यवस्थामा राखिएको रकम फिर्ता आउनुले दुवै कम्पनीको वित्तीय विवरणमा सुधार देखिए पनि पुरानो सञ्चित नोक्सानीका कारण तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा भने दुवै कम्पनी पुगेका छैनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images