images
images
  • धौवादी फलाम खानीबाट ९ करोड ६० लाख टन फलाम निकाल्ने योजना

    काठमाडौं– नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को धौवादीमा रहेको फलाम खानीबाट ९ करोड ६० लाख टन फलाम उत्खनन गर्ने योजना अघि बढाइएको छ । धौवादी फलाम कम्पनी लिमिटेडले खानी उत्खननसम्बन्धी योजना तयार गरी खानी तथा भूगर्भ विभागमा प्रतिवेदन बुझाएको हो ।

    हुप्सेकोट गाउँपालिका–५, धौवादीमा करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

    कम्पनीका अनुसार योजना स्वीकृत भएपछि खानीमा रहेको फलामको भण्डारबारे थप अनुसन्धान तथा उत्खननको काम अघि बढाइनेछ । नेपालमै फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी स्थापना गरिएको हो ।

    कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार भूमिगत फलामको नमुना परीक्षणका लागि खानी क्षेत्रका विभिन्न १२ स्थानमा गरी हालसम्म एक हजार ५०० मिटर ड्रिलिङ गरिएको छ । ड्रिलिङबाट प्राप्त नमुनाको परीक्षण तथा विश्लेषणका आधारमा खानीको वास्तविक सम्भाव्यता थप यकिन गरिने कम्पनीले जनाएको छ ।

    हाल खानीको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । त्यससँगै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया पनि छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ ।

    निर्देशक थापाका अनुसार धौवादी फलाम खानी सञ्चालनमा आएपछि यहाँबाट उत्पादन हुने फलामजन्य वस्तुले नेपालको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ । खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ ।

    खानी सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको कामसमेत भइरहेको कम्पनीले जनाएको छ । खानी उत्खनन, प्रशोधन र उत्पादनका लागि आवश्यक पूर्वाधार तयार भएपछि धौवादीबाट नेपालमै व्यावसायिक रूपमा फलाम उत्पादन गर्ने बाटो खुल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images