images
images
  • सेयर बजारमा ब्रोकरको कमाइ ६ अर्ब ८९ करोड, नासा सबैभन्दा अगाडि

    काठमडौं– सेयर बजारमा कारोबार गराएबापत ब्रोकर कम्पनीहरूले एकै वर्षमा झन्डै ७ अर्ब रुपैयाँ कमिसन आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा ९४ वटा ब्रोकर कम्पनीले कुल ६ अर्ब ८९ करोड १९ लाख १६ हजार रुपैयाँ कमिसन आम्दानी गरेका हुन् ।

    उक्त आर्थिक वर्षमा ब्रोकर कम्पनीमार्फत १६ खर्ब १ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल कारोबार रकमको तुलनामा ब्रोकरहरूले प्राप्त गरेको कमिसन करिब ०.४३ प्रतिशत हो ।

    तर सेयर कारोबारबाट हुने कमिसन आम्दानी सबै ब्रोकरमा समान रूपमा बाँडिएको छैन । नेप्सेको वार्षिक तथ्यांकअनुसार शीर्ष २० ब्रोकरले मात्रै कुल कमिसनको आधाभन्दा बढी हिस्सा हात पारेका छन् ।

    शीर्ष २० ब्रोकरले एक वर्षमा ३ अर्ब ५७ करोड ४२ लाख ४७ हजार रुपैयाँ कमिसन कमाएका छन् । यो कुल ब्रोकर कमिसनको ५१.८६ प्रतिशत हो ।

    बाँकी ७४ ब्रोकर कम्पनीले भने ३ अर्ब ३१ करोड ७६ लाख ६९ हजार रुपैयाँ कमिसन आम्दानी गरेका छन् । उनीहरूको संयुक्त हिस्सा ४८.१४ प्रतिशत रहेको छ ।

    नासा एक्लैले कमायो ४७ करोडभन्दा बढी

    वार्षिक कमिसन आम्दानीमा नासा सेक्युरिटिज सबैभन्दा अगाडि देखिएको छ । नासाले आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४७ करोड १८ लाख ४० हजार ८४४ रुपैयाँ कमिसन आम्दानी गरेको छ ।

    त्यसपछि भिजन सेक्युरिटिजले २५ करोड ८६ लाख ५० हजार ८३१ रुपैयाँ, सानी सेक्युरिटिजले २४ करोड ८६ लाख ३७ हजार ६७० रुपैयाँ, इम्पेरियल सेक्युरिटिजले २४ करोड ५२ लाख ६१ हजार ४६९ रुपैयाँ र अनलाइन सेक्युरिटिजले २२ करोड २३ लाख २० हजार ५५५ रुपैयाँ कमिसन आम्दानी गरेका छन् ।

    यसरी कमिसन आम्दानीका आधारमा शीर्ष पाँच ब्रोकरले मात्रै करिब १ अर्ब ४४ करोड रुपैयाँ कमाएका छन् ।

    शीर्ष १० ब्रोकरले लिए ३३.६७ प्रतिशत हिस्सा

    कमिसन आम्दानीमा शीर्ष १० ब्रोकरको हिस्सा पनि निकै ठूलो देखिएको छ । यी कम्पनीले आर्थिक वर्षभरिमा कुल २ अर्ब ३२ करोड ४ लाख ३० हजार रुपैयाँ कमिसन आम्दानी गरेका छन् ।

    यो कुल ब्रोकर कमिसनको ३३.६७ प्रतिशत हो ।

    यसले सेयर कारोबारको ठूलो हिस्सा सीमित ठूला ब्रोकर कम्पनीमा केन्द्रित हुँदा उनीहरूको कमिसन आम्दानी पनि अन्य ब्रोकरको तुलनामा उल्लेख्य रूपमा बढी रहेको देखाउँछ ।

    साउनमा पनि नासाकै दबदबा

    नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा पनि नासा सेक्युरिटिज नै सबैभन्दा धेरै कमिसन कमाउने ब्रोकर बनेको छ ।

    साउन महिनामा ब्रोकर कम्पनीमार्फत ९५ अर्ब ३५ करोड ३३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त कारोबारबाट ब्रोकर कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार ७८३ रुपैयाँ कमिसन आम्दानी गरेका छन् ।

    साउनमा नासा सेक्युरिटिजले मात्रै ३ करोड ८२ लाख २४ हजार १४० रुपैयाँ कमिसन कमाएको छ ।

    त्यस्तै, सानी सेक्युरिटिजले १ करोड ४० लाख ३८ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिजले १ करोड ३२ लाख ४८ हजार रुपैयाँ र भिजन सेक्युरिटिजले १ करोड ३२ लाख १४ हजार रुपैयाँ कमिसन आम्दानी गरेका छन् ।

    साउनमा शीर्ष १० ब्रोकरले मात्रै १४ करोड ३१ लाख २४ हजार रुपैयाँ कमिसन उठाएका छन् । यो महिनाभर सबै ब्रोकरले कमाएको कुल कमिसनको ३४.६८ प्रतिशत हो ।

    वार्षिक र मासिक दुवै तथ्यांकले सेयर बजारमा कारोबारको मात्रा बढेसँगै ब्रोकर कम्पनीको कमिसन आम्दानी पनि बढ्ने र त्यसमा सीमित ठूला ब्रोकरको हिस्सा उल्लेख्य रहने देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images