काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि विद्युतीय भुक्तानीलाई थप सहज, सुरक्षित र आधुनिक बनाउन नेपाल क्लियरिङ हाउस, हिमालयन बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतापछि नेपाल आउने विदेशी पर्यटकले आफ्ना अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी नेपालका क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीकहाँ सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।
‘सीमापार कार्डबाट क्यूआर भुक्तानी’ प्रणालीको एकीकरणपछि विदेशी पर्यटकले ठूलो मात्रामा नगद बोक्नुपर्ने वा विदेशी मुद्रा सटही गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।
सम्झौताअन्तर्गत विदेशी पर्यटकले फोकसवान पेमेन्ट सोलुसन्सको मोको प्रणाली प्रयोग गरी नेपालका विभिन्न व्यापारिक केन्द्र, होटल तथा पर्यटकीय क्षेत्रमा उपलब्ध क्यूआर संकेत स्क्यान गरेर आफ्नो अन्तर्राष्ट्रिय कार्डमार्फत सिधै भुक्तानी गर्न सक्नेछन् ।
यस प्रणालीले पर्यटकलाई नेपालमा सामान तथा सेवा खरिद गर्दा सहज रूपमा विद्युतीय भुक्तानी गर्ने सुविधा उपलब्ध गराउनेछ ।
सम्बन्धित संस्थाहरूका अनुसार यो सहकार्यले नेपालको विद्युतीय अर्थतन्त्रलाई थप बलियो बनाउन सहयोग पुग्नेछ । साथै, पर्यटन क्षेत्रमा विद्युतीय भुक्तानीको पहुँच विस्तार गर्दै विदेशी पर्यटकलाई सुरक्षित, छिटो र सहज भुक्तानीको अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
पर्यटकले नगद व्यवस्थापन र मुद्रा सटहीको झन्झट कम गर्दै आफूले प्रयोग गर्दै आएको अन्तर्राष्ट्रिय कार्डबाटै भुक्तानी गर्न सक्ने भएपछि नेपाल भ्रमणको अनुभव थप सहज हुने विश्वास गरिएको छ ।


विश्व खबर 




















