काठमाडौं– नेपालबाट एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ प्रकारका एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यातबाट दुई करोड ६६ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै, बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यातबाट ६ करोड ५६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको छ । नेपाली जडीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बङ्गलादेशतर्फको निर्यातसमेत बढ्दै गएको छ ।
बङ्गलादेशतर्फ यस अवधिमा १८७ मेट्रिक टन रिठ्ठा निर्यातबाट दुई करोड तीन लाख ८६ हजार रुपैयाँ, ४० मेट्रिक टन क्यानोला तेलबाट एक करोड २८ लाख ३६ हजार रुपैयाँ र पाँच मेट्रिक टन सतावरबाट ९४ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै, १२ मेट्रिक टन पदमचालबाट ९४ लाख ८८ हजार रुपैयाँ र पाँच मेट्रिक टन जटामसीबाट ६३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ । कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले राम्रो बजार मूल्य पाएका छन् ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार यस अवधिमा २६ मेट्रिक टन चुत्रो ११ लाख ४१ हजार रुपैयाँ, २२ मेट्रिक टन नागबेलीको धुलो १० लाख १८ हजार रुपैयाँ, आठ मेट्रिक टन अमला आठ लाख ६७ हजार रुपैयाँ र दुई मेट्रिक टन टिमुर आठ लाख रुपैयाँमा निर्यात भएको छ ।
प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने
सरोकारवालाहरूले स्वदेशमै जडीबुटीको प्रशोधन, उत्पादनको गुणस्तर वृद्धि र बजारीकरणमा सरकारले सहजीकरण गरे पूर्वी नाकाबाट जडीबुटीको निर्यात अझ बढाउन सकिने बताएका छन् ।
नेपालमा उत्पादन हुने जडीबुटीको प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न सके निर्यातबाट हुने आम्दानी थप बढाउन सकिने उनीहरूको भनाइ छ । साथै, अन्तर्राष्ट्रिय बजारको मागअनुसार जडीबुटीको उत्पादन, प्रशोधन र प्रमाणीकरणमा सरकारी सहयोग आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।


विश्व खबर 




















