काठमाडौं– बालुवाटारस्थित गरिमा विकास बैंकको नयाँ मुख्य कार्यालय उद्घाटन गर्न पुगेका राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सुरुमा निकै उत्साह देखाए ।
रिबन काटेर उद्घाटन गरे, सञ्चालक बैठक कक्ष र सीईओको कार्यकक्षको अवलोकन गरे, बाहिरी बरन्डाबाट बालुवाटारको हरियाली देखेर प्रशंसा पनि गरे ।
सीईओ माधवप्रसाद उपाध्यायलाई स्याङ्जाको पहिचान झल्किने कुरा राख्न सुझावसमेत दिए ।
तर, उद्घाटनपछि उनी पुनः मञ्चमा फर्किएनन् ।
प्रमुख अतिथि भएर आएका उनले औपचारिक शुभकामना वा भाषण केही दिएनन्, बरु कार्यक्रमस्थलबाटै बाहिरिए ।
सञ्चालक अनिता विन्दु अकमक्किए भने सीईओले ‘गभर्नर बोर्ड बैठकमा जानुभयो’ भन्दै पर्दा पछ्याए ।
अन्य अतिथि पनि हिँड्न थालेपछि धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्टलाई बोल्न दिइयो ।
यसअघिका गभर्नरले यस्ता कार्यक्रममा वित्तीय बजार र अर्थतन्त्रका विषयमा लामो मन्तव्य दिने चलन थियो, तर पौडेलले अचानक समारोह नै छाड्नु अस्वाभाविक मानिएको छ ।
सहभागीहरूले दुई थरी आशंका गरेका छन् ।
हालसालै विवादित अभिव्यक्तिपछि बोल्नबाट जोगिन खोजेको वा प्रधानमन्त्री र अर्थमन्त्रीबीचको मतभेदबीच गभर्नरले प्रधानमन्त्री बालेन्द्र शाहसँगको सम्बन्धलाई प्राथमिकता दिएको सन्देश गलत बुझिने डरले मञ्च छोडेको, कारण जे भए पनि यो शैलीले उपस्थित सबैलाई अचम्म र अन्योल बनाएको उनीहरूको भनाइ छ ।


विश्व खबर 




















