images
images
  • विवादबीच हिमालयन लाइफले माग्यो स्थायी प्रमुख कार्यकारी अधिकृत

    काठमाडौं– आन्तरिक विवाद, उच्च व्यवस्थापनमा फेरबदल, संस्थापक सेयर खरिद तथा एनआरआइसीको सेयर खरिदसँग जोडिएका विवाद र नियामकीय निगरानीबीच हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको छ ।

    कम्पनीले खुला प्रतिस्पर्धामार्फत सक्षम तथा अनुभवी नेतृत्व छनोट गरी संस्थागत सुशासन सुदृढ गर्ने प्रक्रिया अघि बढाएको हो ।

    यसअघि कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कार्यशैली, कर्मचारी तथा अभिकर्तासँगको विवाद र विभिन्न आन्तरिक विषयलाई लिएर उत्पन्न असन्तुष्टिबीच पदबाट राजीनामा दिएका थिए ।

    कम्पनीको उच्च व्यवस्थापनसँग सम्बन्धित केही निर्णय, संस्थागत लगानी तथा सेयर कारोबारबारे विभिन्न समयमा प्रश्न उठ्दै आएका छन् । यस्ता विषयमा नियामक निकाय तथा अनुसन्धान गर्ने निकायबाट समेत निगरानी र अनुसन्धान भएको थियो । कम्पनीमा कर्मचारी तथा अभिकर्ताको आन्दोलन र घेराउका कारण व्यवस्थापकीय वातावरणसमेत प्रभावित बनेको थियो ।

    तत्कालीन प्रमुख कार्यकारी अधिकृत बाहिरिएपछि कम्पनी अस्थायी व्यवस्थापनको भरमा सञ्चालन हुँदै आएकोमा अहिले स्थायी नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो ।

    अगस्ट २६ सम्म आवेदन दिनुपर्ने

    कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार प्रमुख कार्यकारी अधिकृत पदका लागि इच्छुक उम्मेदवारले आगामी अगस्ट २६ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

    उम्मेदवारसँग जीवन बीमा क्षेत्रमा कम्तीमा पाँच वर्ष नायब प्रमुख कार्यकारी अधिकृत वा प्रमुख कार्यकारी अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने सर्त राखिएको छ ।

    त्यस्तै, नेपाल बीमा प्राधिकरणले तोकेको ‘योग्य तथा उपयुक्त व्यक्ति’सम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेछ । उम्मेदवारले कम्पनीलाई दीर्घकालीन रूपमा नाफामुखी, पारदर्शी र सुशासनयुक्त संस्थाका रूपमा अघि बढाउने विस्तृत व्यावसायिक योजना समेत पेस गर्नुपर्नेछ ।

    सुशासन सुधारमा नयाँ नेतृत्वको परीक्षा

    आन्तरिक विवाद, व्यवस्थापकीय फेरबदल तथा सेयर कारोबारसँग जोडिएका प्रश्नका कारण कम्पनीको संस्थागत सुशासनमाथि प्रश्न उठिरहेका बेला नयाँ प्रमुख कार्यकारी अधिकृतको छनोटलाई महत्वका साथ हेरिएको छ ।

    कम्पनीले आगामी दिनमा कस्तो नेतृत्व छनोट गर्छ भन्ने विषयले यसको वित्तीय अवस्था, संस्थागत सुशासन, नियामकीय अनुपालन र बजारमा कम्पनीको विश्वसनीयता पुनर्स्थापनामा प्रभाव पार्ने देखिन्छ ।

    स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्तिपछि कम्पनीको व्यवस्थापनलाई स्थायित्व दिने, कर्मचारी तथा अभिकर्तासँगको सम्बन्ध सुधार गर्ने र नियामकका निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने चुनौती नयाँ नेतृत्वसामु रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images