काठमाडैं– सरकारले सुशासन, लगानीमैत्री वातावरण र वैदेशिक लगानी आकर्षणलाई राष्ट्रिय प्राथमिकता बताइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विदेशी व्यवसायीलाई घुस मागिएको आरोप लागेको छ।
चीनबाट नेपाल आएका एक व्यवसायीलाई विमानस्थल भन्सारका कर्मचारीले सामान छाड्न एक लाख रुपैयाँसम्म घुस मागेको आरोप लागेको हो। घुस रकम दिन अस्वीकार गरेपछि ती व्यवसायी आफ्ना सामान विमानस्थलमै छाडेर सोमबार चीन फर्किएको बताइएको छ।
प्राप्त विवरणअनुसार ती चिनियाँ व्यवसायी गत शुक्रबार दिउँसो चिनियाँ विमानमार्फत काठमाडौं आएका थिए। नेपालमा खाद्यपूरक उद्योग स्थापना गर्ने सम्भाव्यताबारे अध्ययन गर्न उनी बजार सर्वेक्षणका लागि नेपाल आएका थिए। नेपाली बजारमा खाद्यपूरकको माग र उद्योग स्थापनाको सम्भावनाबारे अध्ययन गर्ने उद्देश्यले उनले हाते झोलामा करिब १४ हजार रुपैयाँ बराबरका खाद्यपूरकका नमुना ल्याएका थिए।
ती सामान बिक्रीका लागि नभई बजार अध्ययनका लागि नमुनाका रूपमा ल्याइएको व्यवसायीले भन्सार कर्मचारीलाई जानकारी गराएका थिए। सामानमा लाग्ने भन्सार महसुल तिर्नसमेत आफू तयार रहेको उनले बताएका थिए। तर भन्सार कर्मचारीले सामान लैजान नदिई विमानस्थलमै रोकेर राखेको बताइएको छ।
त्यसपछि भन्सारमा खटिएका कर्मचारीले व्यवसायीलाई शनिबार साँझ कार्यालयमा बोलाएका थिए। व्यवसायीले आफ्नो भन्सार प्रतिनिधिलाई पठाए। तर सम्बन्धित कर्मचारीले त्यस दिन समय नभएको भन्दै आइतबार साँझ पुनः आउन भने।
आइतबार साँझ भन्सार कार्यालय पुगेका प्रतिनिधिमार्फत कर्मचारीले सामान छाड्न व्यवसायीसँग एक लाख रुपैयाँ मागेको आरोप छ। करिब १४ हजार रुपैयाँ बराबरका सामानका लागि एक लाख रुपैयाँ मागिएपछि व्यवसायीले घुस दिन अस्वीकार गर्दै कानुनबमोजिम लाग्ने भन्सार महसुल तिर्न आफू तयार रहेको जवाफ दिएका थिए।
त्यसपछि कर्मचारीले मागेको रकम घटाएर ८० हजार रुपैयाँ दिए सामान लैजान सकिने प्रस्ताव गरेको बताइएको छ। व्यवसायीले उक्त प्रस्तावसमेत अस्वीकार गरे।
भन्सार कर्मचारीको व्यवहार र रकम मागिएको घटनाबाट निराश भएका ती व्यवसायी अन्ततः आफ्नो झोला र सामान विमानस्थल भन्सारमै छाडेर चीन फर्किएका हुन्। हाल पनि उनले ल्याएको सामान विमानस्थलमै रहेको बताइएको छ।
नेपालमा उद्योग स्थापना गर्ने सम्भाव्यता अध्ययनका लागि आएका ती व्यवसायीले नेपालमा उद्योग स्थापना गर्नुभन्दा अफ्रिकी मुलुकमा उद्योग स्थापना गर्न सहज हुने धारणा व्यक्त गरेको बताइएको छ। भन्सार कार्यालयमा भएको व्यवहारका कारण उनको नेपालप्रतिको धारणा नकारात्मक बनेको नेपाली सम्भावित व्यावसायिक साझेदारलाई बताएका थिए।
घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख रामकृष्ण पुडासैनीले आफूलाई अहिलेसम्म जानकारी नभएको बताएका छन्। उनले कर्मचारीबाट त्यस्तो व्यवहार भएको प्रमाणित भए गम्भीर अपराध हुने भन्दै घटनाबारे बुझेर आवश्यक कानुनी कारबाही अघि बढाउने बताएका छन्।
व्यवसायीले ल्याएको झोला तथा सामान विमानस्थलमै रहेकाले घटनाको सत्यतथ्य पत्ता लगाउन सहज हुने उनको भनाइ छ।
नेपालले विदेशी लगानी भित्र्याउने, लगानीको वातावरण सुधार गर्ने तथा लगानीकर्तालाई सहज सेवा दिने नीति अघि सारिरहेका बेला विमानस्थलजस्तो देशको प्रवेशद्वारमै विदेशी व्यवसायीमाथि घुस मागिएको आरोप लाग्नु गम्भीर विषय बनेको छ।
विदेशी लगानीकर्ताको पहिलो अनुभव नै सरकारी निकायबाट हुने व्यवहारसँग जोडिने भएकाले यस्ता घटनाले नेपालको लगानी वातावरणप्रति अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने जोखिम रहन्छ। त्यसैले घटनाको निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए दोषी कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएको छ।


विश्व खबर 




















