काठमाडौं– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२र८३ मा आन्तरिक राजस्व संकलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ अर्ब ७३ करोड ४३ लाख ८८ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, ४ अर्ब १७ करोड ८८ लाख ११ हजार रुपैयाँ मात्रै संकलन भएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाले जानकारी दिए।
प्रदेशको आन्तरिक राजस्वमा सबैभन्दा ठूलो योगदान सवारीसाधन करतर्फ देखिएको छ। यस शीर्षकमा १ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा १ अर्ब २० करोड ६९ लाख १६ हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ८७ दशमलव ४६ प्रतिशत हो।
घरजग्गा रजिस्ट्रेसनबाट ९१ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
विज्ञापन करतर्फ भने लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। २२ लाख ७८ हजार रुपैयाँ लक्ष्य राखिएकामा ३२ लाख २ हजार रुपैयाँ संकलन भएको हो।
कृषि आयमा लाग्ने कर संकलन भने निकै कमजोर देखिएको छ। २० लाख रुपैयाँ लक्ष्य राखिएकामा ४ लाख ९५ हजार रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यको २१ दशमलव ४८ प्रतिशत हो।
त्यस्तै, पर्यटन तथा पदयात्रा शुल्कबाट १४ लाख ६९ हजार रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यको २४ दशमलव ६९ प्रतिशत हो।
ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीबाट १९ करोड ७२ लाख ३४ हजार रुपैयाँ, मनोरञ्जन करतर्फ ३४ लाख ४५ हजार रुपैयाँ र यातायात क्षेत्रको अन्य आम्दानीबाट ५५ करोड ४० लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
केही शीर्षकमा राजस्व संकलन कमजोर रहे पनि प्रमुख राजस्व शीर्षकमा भएको संकलनका कारण प्रदेशको समग्र आन्तरिक राजस्व अवस्था सन्तोषजनक रहेको उपाध्यक्ष देवकोटाले बताए।
प्रदेश सरकारको आन्तरिक राजस्व संकलनमा सवारीसाधन कर, घरजग्गा रजिस्ट्रेसन तथा यातायात क्षेत्रबाट प्राप्त आम्दानीको योगदान उल्लेख्य रहेको देखिएको छ।


विश्व खबर 




















