काठमाडौं— जेनजी आन्दोलनको प्रभाव निर्जीवन बीमा क्षेत्रमा समेत परेको छ। आन्दोलनका क्रममा भएको उच्च दाबीका कारण अधिकांश निर्जीवन बीमा कम्पनीको नाफामा दबाब परेको देखिएको छ। तर, यही अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीले भने नाफा बढाउन सफल भएको छ ।
प्रभु इन्स्योरेन्सको नाफा आर्थिक वर्ष २०८१र८२ को तुलनामा चालु आर्थिक वर्षमा २० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षमा २४ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन भने १४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २ अर्ब ३ करोड रुपैयाँ रहेको कुल बीमा शुल्क आर्जन चालु आर्थिक वर्षमा घटेर १ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ ।
तर, कम्पनीको कमिसन आम्दानी बढेको छ। अघिल्लो वर्ष १७ करोड ७९ लाख रुपैयाँ रहेको कमिसन आम्दानी बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ। बीमा दाबी भुक्तानीसमेत घटेको छ । अघिल्लो वर्ष ५५ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले यसपटक ५० करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले जारी गरेका कुल बीमालेखको संख्या भने १ लाख २३ हजारबाट घटेर १ लाख १४ हजारमा झरेको छ। यद्यपि, नवीकरण भएका बीमालेखको संख्या ३९ हजारबाट बढेर ४६ हजार पुगेको छ ।
अघिल्लो वर्ष १ हजार ६ सय ६२ वटा बीमा दाबी भुक्तानी हुन बाँकी रहेकामा हाल यस्तो संख्या बढेर १ हजार ९ सय ७० पुगेको छ ।
दाबी भइसकेको तथा अनुमानितभन्दा बढी दाबी लाग्न सक्ने खुद बाँकी दायित्व भने सामान्य घटेको छ। यस्तो दायित्व अघिल्लो वर्ष १९ करोड ९७ लाख रुपैयाँ रहेकामा हाल १९ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
प्रभु इन्स्योरेन्सको जोखिम बहन क्षमता बलियो देखिएको छ। कम्पनीको सल्भेन्सी मार्जिन ५ दशमलव ४८ गुणा रहेको छ। नियामकीय व्यवस्थाअनुसार यस्तो अनुपात न्यूनतम १ दशमलव ३ गुणाभन्दा बढी हुनुपर्ने व्यवस्था छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ११ रुपैयाँ १३ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ३३ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ।
प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १० करोड रुपैयाँ रहेको छ।
२०६४ सालदेखि सेयर कारोबारमा रहेको प्रभु इन्स्योरेन्सले पछिल्लो पाँच वर्षमा औसत १० दशमलव ३४ प्रतिशत लाभांश वितरण गरेको छ। मंगलबार कम्पनीको सेयर ६६० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य अधिकतम ७९६ रुपैयाँ र न्यूनतम ६३० रुपैयाँसम्म पुगेको छ।
आइजीआई प्रुडेन्सियलको नाफामा ९८ प्रतिशत गिरावट
यता आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफामा भने ठूलो गिरावट आएको छ। कम्पनीको नाफा ९८ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८१र८२ मा ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षमा जम्मा ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा जेनजी आन्दोलनका क्रममा भएको बीमा दाबी उच्च रहेको उल्लेख गरेको छ। आन्दोलनका कारण बढेको दाबी र त्यससँग सम्बन्धित खर्चले कम्पनीको नाफामा ठूलो असर पारेको देखिन्छ।
यद्यपि, कम्पनीको कुल बीमा शुल्क आर्जन भने बढेको छ। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँ रहेको कुल बीमा शुल्क आर्जन बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले भुक्तानी गरेको कुल बीमा दाबी रकम भने सामान्य घटेको छ। अघिल्लो वर्ष २ अर्ब ४६ करोड रुपैयाँ रहेको यस्तो रकम घटेर २ अर्ब २४ करोड रुपैयाँमा आएको छ।
तर, खुद दाबी खर्चसहित कुल खर्चमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीको कुल खर्च अघिल्लो वर्ष १ अर्ब ६४ करोड रुपैयाँ रहेकामा बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यही कारण बीमा शुल्क आर्जन बढे पनि नाफामा ठूलो गिरावट आएको हो।
आइजीआई प्रुडेन्सियलले जारी गरेका कुल बीमालेखको संख्या २ लाख २२ हजारबाट बढेर २ लाख ३७ हजार पुगेको छ। नवीकरण भएका बीमालेखको संख्या पनि ६२ हजारबाट बढेर ६६ हजार पुगेको छ।
अघिल्लो वर्ष ७ हजार ६ सय ६१ वटा बीमा दाबी भुक्तानी हुन बाँकी रहेकामा हाल यस्तो संख्या बढेर ७ हजार ८ सय ९७ पुगेको छ।
दाबी भइसकेको तथा अनुमानितभन्दा बढी दाबी लाग्न सक्ने खुद बाँकी दायित्वसमेत बढेको छ। यस्तो दायित्व ५२ करोड ५९ लाख रुपैयाँबाट बढेर ८३ करोड १५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, दाबी भइसकेको तथा अनुमानितभन्दा बढी दाबी लाग्न सक्ने कुल रकम २ अर्ब २७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको सल्भेन्सी मार्जिन ५ दशमलव ६ गुणा रहेको छ। प्रतिसेयर आम्दानी भने अघिल्लो वर्षको १२ रुपैयाँ ५ पैसा बाट घटेर १३ पैसा मात्र कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ।
आइजीआई प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १ करोड ८४ लाख रुपैयाँ रहेको छ।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीचको मर्जरपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेको हो। कम्पनीले २०८० वैशाखदेखि एकीकृत कारोबार सुरु गरेको थियो। पछिल्ला दुई आर्थिक वर्षमा कम्पनीले क्रमशः ९ दशमलव ७३ प्रतिशत र ५ प्रतिशत लाभांश वितरण गरेको थियो।
मंगलबार कम्पनीको सेयर ४२८ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य अधिकतम ५४३ रुपैयाँ र न्यूनतम ३९२ रुपैयाँसम्म पुगेको छ।
जेनजी आन्दोलनपछि निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामै फरक देखिएको छ। प्रभु इन्स्योरेन्सले खर्च तथा दाबी व्यवस्थापनमार्फत नाफा बढाउन सफल हुँदा आइजीआई प्रुडेन्सियलमा भने उच्च दाबी तथा खर्चका कारण नाफा लगभग समाप्त हुने अवस्थामा पुगेको वित्तीय विवरणले देखाएको छ।


विश्व खबर 




















