काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकभर मौसमी गतिविधि बढेको छ ।
हाल देशभरको आकाश सामान्यतया बादले ढाकिएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
पहाडी भेगमा भारी वर्षा र तराईमा हावाहुरी तथा चट्याङ्गको जोखिम रहेकाले आवश्यक पूर्वसावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
आज दिउँसोको मौसम
देशभरको स्थिति: दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
पहाड तथा हिमाली भू–भाग: हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षा हुने देखिन्छ ।
तराई भू–भाग: बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको आकलन गरिएको छ ।
भारी वर्षा र हावाहुरीको चेतावनी: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा तेज हावाहुरी चल्ने सम्भावना रहेको छ ।
आज रातिको मौसम
बादलको अवस्था: हिमाली तथा पहाडी भू–भागका साथै कोशी र सुदूरपश्चिमका तराईमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
वर्षाको सम्भावना: हिमाली क्षेत्रका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुनसक्छ ।
तराई क्षेत्र: कोशी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।























