काठमाडौं– सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताको संख्या ३१ लाख नाघेको छ। कोषको भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७४० जना योगदानकर्ता सूचीकृत भएका छन्।
कोषमा आबद्ध योगदानकर्तामध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका श्रमिकको छ। वैदेशिक क्षेत्रबाट मात्रै २३ लाख ७१ हजार ७१७ जना कोषमा आबद्ध भएका छन्।
त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ३४ हजार ५६९ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ३१० जना र अनौपचारिक क्षेत्रबाट १ हजार १४४ जना योगदानकर्ता सूचीकृत भएका छन्।
औपचारिक क्षेत्रका २३ हजार ६०१ रोजगारदाता संस्था पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशका रोजगारदाताको सहभागिता सबैभन्दा धेरै छ।
बागमतीबाट १५ हजार ६३५ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। त्यस्तै कोशी प्रदेशबाट २ हजार ६०७, लुम्बिनीबाट २ हजार २१, गण्डकीबाट १ हजार ३२३ र मधेस प्रदेशबाट १ हजार ३२१ रोजगारदाता आबद्ध भएका छन्।
सुदूरपश्चिमबाट ३८० र कर्णालीबाट ३१४ रोजगारदाता कोषमा सूचीकृत भएका छन्।
१ खर्ब २३ अर्ब योगदान संकलन
सामाजिक सुरक्षा कोषले विभिन्न योजनाअन्तर्गत भदौ १ गतेसम्म १ खर्ब २३ अर्ब ८ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ। यसमा औपचारिक, वैदेशिक, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका योगदानकर्ताको रकम समावेश छ।
वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत सबैभन्दा धेरै रकम संकलन भएको छ। औपचारिक क्षेत्रबाट यस योजनामा ९० अर्ब ९६ करोड ६६ लाख ७७ हजार रुपैयाँ र वैदेशिक क्षेत्रबाट ४४ अर्ब ६१ करोड ५२ लाख ७१ हजार रुपैयाँ जम्मा भएको छ।
कोषमा प्रतिफल तथा अतिरिक्त योगदानबाट प्राप्त रकमसमेत उल्लेख्य रहेको जनाइएको छ।
२१ अर्ब ८३ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषबाट विभिन्न जोखिम तथा आवश्यकताका समयमा सुविधा लिने योगदानकर्ताको संख्या पनि बढिरहेको छ। हालसम्म कोषले २१ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कोषका अनुसार हालसम्म ३ लाख १२ हजार ८८४ वटा दाबी परेकोमा १ लाख ३४ हजार ८०९ वटा दाबीको भुक्तानी भइसकेको छ।
योजनागत रूपमा वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १७ अर्ब ४५ करोड ५७ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएको छ।
त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ३ अर्ब ८३ करोड ३१ लाख ४ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ३८ करोड २४ लाख ६७ हजार रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ३१ करोड ६३ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरिएको कोषको तथ्यांक छ।


विश्व खबर 




















