images
images
  • चार कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन

    काठमाडौं– नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि चार कम्पनीले आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले साउन महिनाभित्र आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।

    चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्।

    मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५०० कित्ता साधारण सेयर निष्कासनका लागि साउन २२ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

    इन्द्रेणी मसरुम फार्म लिमिटेडले पनि साउन २२ गते नै आठ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

    सोही दिन मध्यपुर अस्पताल लिमिटेडले पनि २८ लाख कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। अस्पतालको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

    कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले भने साउन २९ गते २४ लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति मागेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

    यी चार कम्पनीको आवेदनसँगै प्राथमिक बजारमा नयाँ कम्पनीको प्रवेशको तयारी अघि बढेको छ। यद्यपि, बोर्डले गत वैशाख २ गतेपछि हालसम्म कुनै पनि कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिएको छैन।

    प्राथमिक बजार सुधारका विभिन्न योजना अघि बढाइरहेको बोर्डले नीतिगत सुधारपछि मात्रै साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया अघि बढाउने बताउँदै आएको छ। त्यसैले आवेदन दिएका चार कम्पनीले अनुमति पाउन पनि बोर्डको नयाँ नीतिगत व्यवस्था र प्रक्रिया पूरा गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images