images
images
  • भारत–नेपाल डिजिटल भुक्तानी सम्बन्ध थप बलियो, अब दुईतर्फी तत्काल रकम पठाउन सकिने

    काठमाडौं– भारत र नेपालबीच डिजिटल भुक्तानी सम्पर्क थप सुदृढ हुने भएको छ। नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडले सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तार गर्दै दुवै देशका नागरिक तथा व्यवसायीलाई थप सहज भुक्तानी सुविधा उपलब्ध गराउने जनाएको छ।

    नयाँ व्यवस्थाअनुसार भारतबाट नेपाल र नेपालबाट भारतमा वास्तविक समयमा रकम पठाउन सकिनेछ। यसका लागि प्रयोगकर्ताले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल भुक्तानी ठेगाना प्रयोग गर्न सक्नेछन्। रकम पठाउँदा संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्ने छैन।

    त्यस्तै, भारतबाट नेपाल आउने यात्रुले युनिफाइड पेमेन्ट्स इन्टरफेसमार्फत नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठानमा राखिएका क्यूआर संकेत स्क्यान गरी तत्काल भुक्तानी गर्न सक्नेछन्। फोनपे सञ्जालमा आबद्ध व्यवसायीले यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था छ।

    नेपालमा भारतीय पर्यटकका लागि चन्द्रागिरि, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यस्तो भुक्तानी सुविधा उपलब्ध रहेको जनाइएको छ। यसबाट भारतीय यात्रुलाई नगद बोक्नुपर्ने तथा मुद्रा साट्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

    सन् २०२५ मा दुई लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्यांक उल्लेख गर्दै एनपीसीआई इन्टरनेसनलले नेपालमा यस्तो डिजिटल भुक्तानीको प्रयोगको सम्भावना उच्च रहेको जनाएको छ। मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक भेटघाटका लागि नेपाल आउने भारतीय नागरिकलाई यसले सहजता प्रदान गर्नेछ।

    नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा भारतको युपीआई र नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेसबीच जोडिएपछि दुवै देशका नागरिकलाई तत्काल रकम स्थानान्तरणको सुविधा उपलब्ध भएको हो। नेपालमा रहेका भारतीय प्रयोगकर्ताले युपीआई परिचयमार्फत भारतमा रकम पठाउन सक्नेछन् भने भारतीय प्रयोगकर्ताले नेपालमा रकम पठाउन सक्नेछन्।

    यसबाट रेमिट्यान्समा निर्भर परिवार तथा व्यक्तिले छिटो, सुरक्षित र कम लागतमा रकम स्थानान्तरण गर्न सक्ने अपेक्षा गरिएको छ।

    एनपीसीआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारत र नेपालबीच सुरक्षित तथा तत्काल डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार भारतीय यात्रुका लागि कारोबार सहज बनाउनुका साथै दुई देशबीच रकम पठाउने प्रक्रियालाई सरल र प्रभावकारी बनाउन कम्पनीले काम गरिरहेको छ।

    युपीआईमार्फत नेपालका व्यवसायीले ठूलो डिजिटल ग्राहक समूहसम्म पहुँच पाउने कम्पनीको विश्वास छ। तत्काल भुक्तानी, नगद व्यवस्थापनमा सहजता तथा नगदमा निर्भरता घट्ने भएकाले खुद्रा व्यापार, होटल तथा आतिथ्य सेवा र दैनिक उपभोगका क्षेत्रमा समेत यसको लाभ पुग्ने अपेक्षा गरिएको छ।

    एनपीसीआई इन्टरनेसनलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँग सहकार्य गर्दै युपीआईमा आधारित भुक्तानीको पहुँच थप विस्तार गर्ने जनाएको छ। साथै, तत्काल रकम स्थानान्तरणको सुविधा थप बैंकसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

    यसबाट भारत र नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images