काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद मुनाफा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा बढेको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको हो ।
नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो ।
चौथो त्रैमासिकमै ४ अर्ब २० करोड नाफा
गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनामा मात्रै नेपाल टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।
तेस्रो त्रैमासिकसम्म कम्पनीले ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा चौथो त्रैमासिकमा मात्रै कम्पनीको नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा कम्पनीले १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा गत आर्थिक वर्षको सोही अवधिमा चौथो त्रैमासिक नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ ।
कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय घरसम्म उच्चगतिको इन्टरनेट र जिएसएम सेवामार्फत तथ्याङ्क प्रयोग बढ्दा आम्दानी बढेको हो। आवाज सेवाको तुलनामा तथ्याङ्क प्रयोग बढेको र सञ्चालन खर्च घटेका कारण नाफा बढेको उनको भनाइ छ ।
कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ। गत आर्थिक वर्षमा यस्ता खर्च कटौतीबाट मात्रै करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको कम्पनीको भनाइ छ ।
कुल आम्दानी ३९ अर्ब १९ करोड
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो ।
एक वर्षमा कम्पनीको कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २ दशमलव ६५ प्रतिशतले बढेको हो।
कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले बढेको हो।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यसमा १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १० दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ ।
करअघिको मुनाफा १३ अर्ब २६ करोड
समीक्षा अवधिमा नेपाल टेलिकमको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।
एक वर्षमा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।
जिएसएम सेवाको आम्दानी बढ्यो
ब्याज आम्दानी घटे पनि मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्दा कम्पनीको समग्र मुनाफामा सकारात्मक प्रभाव परेको नेपाल टेलिकमले जनाएको छ।
समीक्षा अवधिमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ। ब्याजदर क्रमिक रूपमा घट्दा यस्तो आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ।
तर, जिएसएम सेवातर्फको आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवाबाट हुने आम्दानी ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ ।
सेवा सुधारसँगै प्रयोगकर्ता बढ्दै
सरकारले नेपाल टेलिकमको सेवा पहुँच तथा गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विभिन्न सुधारका काम अघि बढाएसँगै कम्पनीको वित्तीय अवस्थामा समेत सकारात्मक प्रभाव देखिन थालेको बताइएको छ ।
टेलिकममा तथ्याङ्क प्याकेज सकिएपछि ग्राहकको जानकारीबिना मुख्य खाताबाट रकम काटिने अवस्था अन्त्य गरिएको छ। साथै, सबै सेवा अनलाइन गर्ने तथा एकपटक मात्र ग्राहक पहिचान विवरण भर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।
प्रयोगअनुसार शुल्क तिर्ने व्यवस्था लागू भएपछि ग्राहकले तथ्याङ्क सकिएपछि शुल्क कटाउने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प रोज्न पाउने भएका छन् ।
त्यस्तै, विद्युतीय सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा अनलाइनबाटै उपलब्ध हुन थालेका छन् ।
ग्राहकलाई सहज सेवा उपलब्ध गराउन टेलिकमका विभिन्न कार्यालयमा एकीकृत सहायता कक्षसमेत स्थापना गरिएको छ। चौथो पुस्ताको मोबाइल सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि थप तरङ्ग उपलब्ध गराउनेलगायतका नीतिगत कामसमेत अघि बढाइएको छ ।
टेलिकमका अनुसार सेवा सुधार, तथ्याङ्क प्रयोगमा वृद्धि र सञ्चालन खर्चमा भएको कमीले आगामी दिनमा कम्पनीको वित्तीय अवस्थामा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 




















