images
images
  • विश्व बजारमा कच्चा तेलको मूल्य ९० डलरमाथि, अमेरिका–इरान तनावले बढायो चिन्ता

    काठमाडौं– विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा माथि पुगेको छ। अमेरिका र इरानबीचको तनाव तत्काल समाधान हुने सम्भावना कमजोर बन्दै गएपछि तेलको मूल्य बढेको हो।

    मंगलबार लन्डनस्थित आईसीई एक्सचेञ्जमा विश्व बजारको प्रमुख मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ९१ डलर पुगेको छ। यो जुलाईको अन्त्ययताकै उच्च मूल्य हो।

    त्यस्तै, अमेरिकी मानक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि शून्य दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ८५ डलर पुगेको छ।

    अमेरिका र इरानबीच जुनमा ६० दिनको युद्धविराम सम्झौता भएको थियो। उक्त सम्झौताले दुवै पक्षलाई दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गर्ने र युद्धका कारण अवरुद्ध स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने वातावरण बन्ने अपेक्षा गरिएको थियो।

    तर इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा ठोस प्रगति नभएपछि तनाव कायमै रहेको अवस्थामा सोमबार युद्धविरामको अवधि समाप्त भएको छ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकी प्रयासमा हस्तक्षेप गरिए ओमानमाथि बमबारी गर्न सकिने चेतावनी दिएको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा थप चिन्ता बढेको छ।

    तेलको मूल्य बढेसँगै मंगलबार अमेरिका तथा अन्य मुलुकका सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ। लामो समयसम्म अमेरिका–इरान तनाव कायम रहे ऊर्जा मूल्य उच्च रहने र त्यसले विश्वव्यापी महँगी थप बढाउन सक्ने लगानीकर्ताको अनुमान छ।

    महँगी बढेमा त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर थप बढाउन सक्ने भएकाले लगानीकर्तामा चिन्ता बढेको हो।

    अमेरिकाको ३० वर्षे सरकारी ऋणपत्रको प्रतिफल मंगलबार ५ दशमलव ३३ प्रतिशतसम्म पुगेको छ। यो झन्डै दुई दशकयताकै उच्च स्तर हो।

    त्यस्तै, जर्मनीको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल पनि १५ वर्षयताकै उच्च स्तरमा पुगेको छ। विभिन्न मुलुकका लामो अवधिका सरकारी ऋणपत्रको ब्याजदर समेत धेरै वर्षयताकै उच्च बिन्दुमा पुगेका छन्।

    जर्मन बैंक दोयचेका विश्लेषकहरूले सरकारी ऋणपत्रको ब्याजदरमा भएको वृद्धिले विभिन्न सरकारमाथिको वित्तीय दबाब अझै कम नभएको देखाउने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images