काठमाडौं– सरकारले अघि बढाएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत दोस्रो चरणको १० लाख रुपैयाँको बम्पर पुरस्कार बाराका तुल पुडासैनीले जितेका छन्।
अर्थ मन्त्रालयमा सोमबार गरिएको कुपन छनोटका आधारमा आन्तरिक राजस्व विभागले दोस्रो चरणका बम्पर तथा दैनिक पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो।
विभागका अनुसार १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेता पुडासैनीले आकस्मिक लाभकरबापत २५ प्रतिशत रकम कट्टी भएपछि ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, दोस्रो चरणमा १ लाख ३३ हजार रुपैयाँका दैनिक पुरस्कार जित्ने १६ जनाको नामसमेत सार्वजनिक गरिएको छ। करबापत २५ प्रतिशत रकम कट्टी भएपछि प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेमा सप्तरीका योगेश विश्वकर्मा, हेटौंडाका दिनेश तामाङ, काठमाडौंकी अस्क्रना लामा, काठमाडौंकी भगवती सापकोटा, बाँकेका रहिम महमद हवारी र बाँकेकै महेशकुमार पौडेल रहेका छन्।
त्यसैगरी काठमाडौंका राजेन्द्र थापा, शिवनारायण बडही मिस्त्री, कमल तामाङ, रमेशकुमार कानु, मनिष गौतम र चक्रबहादुर शाही पनि एक लाख रुपैयाँ पुरस्कारका विजेता बनेका छन्।
रूपन्देहीका चुडामणि दानाई, सुर्खेतका घनश्याम तिवारी, महोत्तरीका राकेशकुमार सिंह र चितवनका विकास गुरुङले पनि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।
विभागका अनुसार पुरस्कार छनोटमा परेका कारोबारका बिलमध्ये सबैभन्दा कम रकमको बिल २०० रुपैयाँको रहेको छ भने सबैभन्दा बढी रकमको बिल २० हजार रुपैयाँको रहेको छ।
सरकारले करको दायरामा आबद्धता बढाउने, खरिद तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल लिने र दिने संस्कार विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।


विश्व खबर 




















