काठमाडौं– नेपालको अटोमोबाइल तथा यातायात साधन क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने छदिने प्रदर्शनीमा विभिन्न सवारीसाधन, प्रविधि, उपकरण तथा सेवाको प्रदर्शनी गरिनेछ। प्रदर्शनीको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको प्रदर्शनीको १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणका रूपमा भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य अटोमोबाइल तथा यातायात साधनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई एउटै मञ्चमा ल्याउनु र सर्वसाधारणलाई बजारमा उपलब्ध नयाँ सवारीसाधन, प्रविधि तथा नवीनतम उत्पादनबारे प्रत्यक्ष जानकारी तथा अनुभव प्रदान गर्नु हो ।
प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा प्रदर्शन गर्नुका साथै ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर पाउनेछन् ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी दुई सयभन्दा बढी कक्ष रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा यात्रुवाहक सवारीसाधनका २३ वटा ब्रान्ड, हलुका व्यावसायिक सवारीसाधनका १७ वटा ब्रान्ड तथा दुईपांग्रे सवारीसाधनका १३ वटा ब्रान्ड सहभागी हुनेछन् ।
त्यस्तै, वित्तीय तथा बीमा सेवाप्रदायक १० वटा संस्था र अटोमोबाइलका पार्टपुर्जा, सहायक सामग्री, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवा प्रदायक ७० वटा संस्थाका कक्ष रहनेछन् ।
प्रदर्शनीमा नेपालमै जडान हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायतका सामग्रीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।
नाडाका अनुसार प्रदर्शनीले नेपालमा तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा यातायात साधन क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिलाई एउटै स्थानबाट प्रस्तुत गर्नेछ ।


विश्व खबर 




















