काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुदूरपश्चिम प्रदेशले कक्षा १२ तहका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको छ ।
महर्षि कलेजको सहकार्यमा सञ्चालन हुने एकदिने तालिममा कृत्रिम बुद्धिमत्ताको आधारभूत ज्ञान, सिर्जनात्मक कृत्रिम बुद्धिमत्ता, विभिन्न कृत्रिम बुद्धिमत्ता उपकरणको प्रयोग, निर्देशन लेखन, वास्तविक जीवनका समस्या समाधान तथा कृत्रिम बुद्धिमत्ताको सुरक्षित र नैतिक प्रयोगबारे प्रशिक्षण दिइनेछ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको पहल तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धीरेन बोगटीको नेतृत्वमा सुरु भएको अभियानले नेपालभर कृत्रिम बुद्धिमत्तासम्बन्धी शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
तालिममा विद्यार्थीलाई शैक्षिक तथा व्यावहारिक काममा कृत्रिम बुद्धिमत्ताको प्रयोग, प्रभावकारी निर्देशन लेखन, विभिन्न कृत्रिम बुद्धिमत्ता उपकरणको उपयोग तथा त्यसबाट प्राप्त परिणामको आलोचनात्मक मूल्याङ्कन गर्ने सीप सिकाइनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित सम्भावित रोजगारी तथा व्यवसायका अवसर, उत्पादकत्व वृद्धि र सिर्जनात्मकता बढाउन प्रविधिको प्रयोगबारे समेत विद्यार्थीलाई जानकारी दिइनेछ ।
आयोजकका अनुसार अभियानको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधिका निष्क्रिय प्रयोगकर्ताबाट डिजिटल सिर्जनाकर्ता, समस्या समाधानकर्ता तथा नवप्रवर्तकका रूपमा विकास गर्नु हो । अभियानमार्फत विद्यार्थीमा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोगसम्बन्धी ज्ञान र व्यावहारिक क्षमता विकास गर्ने लक्ष्य राखिएको छ ।


विश्व खबर 




















