images
images
  • विद्युत् आपूर्ति गुणस्तरीय बनाउन स्मार्ट मिटर र स्वचालित उपकेन्द्र विस्तार गरिने

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरमा स्मार्ट मिटर जडान र विद्युत् उपकेन्द्रको स्वचालन प्रणाली विस्तारको काम अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार सहरी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न नयाँ विद्युत् उपकेन्द्र निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ ।

    औद्योगिक क्षेत्रमा भोल्टेजको उतारचढाव न्यूनीकरण गर्दै भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न समर्पित विद्युत् प्रवाहकसहितका पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएको उनले बताए ।

    मन्त्री श्रेष्ठले विद्युत् वितरण प्रणालीलाई थप मजबुत, भरपर्दो र गुणस्तरीय बनाउने प्रक्रिया निरन्तर अघि बढाइने बताए। नेपाल विद्युत् प्राधिकरणले सरकारसँगको समन्वयमा उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका साथ परिचालन गरी वितरण प्रणाली सुधारको काम गरिरहेको र त्यसका सकारात्मक परिणाम क्रमशः देखिन थालेको उनको भनाइ छ ।

    विद्युत् निर्यातबाट २९ अर्ब आम्दानी

    सांसद बासना थापाको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए । तर विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने उनले स्पष्ट पारे। नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढ्दा विद्युत् उत्पादन उच्च हुने उनले बताए ।

    वर्षायाममा स्वदेशी मागभन्दा बढी विद्युत् उत्पादन हुने भए पनि आन्तरिक खपतका लागि पर्याप्त पूर्वाधार नहुँदा विद्युत् खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको मन्त्री श्रेष्ठको भनाइ छ । सुक्खायाममा विद्युत् उत्पादन घट्ने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए। आर्थिक वर्ष २०८२र८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    भोल्टेज र विद्युत् अवरोधको समस्या समाधान गरिने

    देशका विभिन्न स्थानमा देखिएको भोल्टेजको उतारचढाव, बारम्बार विद्युत् अवरोध तथा ट्रान्सफर्मरमा देखिने खराबीबारे अध्ययन गर्न मन्त्रालयले २०८३ असार १६ गते उच्चस्तरीय समिति गठन गरेको मन्त्री श्रेष्ठले बताए । समितिले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रवाह, भोल्टेजको अवस्था तथा बारम्बार विद्युत् अवरोध हुने समस्याको अध्ययन गरी प्रतिवेदन तयार गरेको उनले जानकारी दिए। प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि २०८३ साउन २० गते नेपाल विद्युत् प्राधिकरणलाई पठाइसकिएको उनले बताए ।

    मन्त्री श्रेष्ठका अनुसार पुराना, जीर्ण तथा न्यून क्षमताका विद्युत् पूर्वाधार र जनताको जीवनशैली तथा प्रविधिमा आएको परिवर्तनसँगै बढेको विद्युत् खपत अहिलेको प्रमुख चुनौती हो । घरेलु विद्युतीय उपकरणको प्रयोग बढेसँगै गार्हस्थ्य उपभोक्ताको विद्युत् माग पनि हरेक वर्ष बढिरहेको छ। तर पुराना र न्यून क्षमताका संरचनाले बढ्दो विद्युत् भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेला–बेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिएको उनले बताए ।

    समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापन, ट्रान्सफर्मर तथा विद्युत् प्रवाहकको क्षमता वृद्धि, प्रणाली सुदृढीकरण र तत्काल मर्मतसम्भारलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    गुनासोका लागि चौबीसै घण्टा सेवा

    मन्त्री श्रेष्ठले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न मन्त्रालयको चौबीसै घण्टा सञ्चालन हुने ११५१ नम्बरको सहायता सेवा तथा नेपाल विद्युत् प्राधिकरणको ११५० नम्बरको सहायता सेवा सञ्चालनमा रहेको बताए । त्यस्तै, ‘नो लाइट’ सेवामार्फत विद्युत् अवरोधसम्बन्धी गुनासो सुन्ने र समाधान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images