images
images
  • बल्ब किन्दा १० लाखको उपहार, अर्थमन्त्रीद्वारा विजेतालाई पुरस्कार हस्तान्तरण

    काठमाडौं– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकमा १० लाख रुपैयाँको बम्पर उपहार जितेका धनगढीका हेमराज जोशीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा अर्थमन्त्री वाग्लेले जोशीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    जोशीले २५० रुपैयाँमा बिजुलीको बल्ब खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका थिए । पुरस्कार हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले जोशीलाई सरकारको करदाता प्रोत्साहन कार्यक्रमको दूत बन्न आग्रह गरे । उनले कर तिर्ने तथा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र दिने संस्कार विकास गर्न पुरस्कार विजेताले समेत समाजमा सन्देश फैलाउनुपर्ने बताए। साथै, पुरस्कारबाट प्राप्त रकम राम्रो काममा लगानी गर्न उनले आग्रह गरे ।

    यसैगरी, नवलपरासीको गैँडाकोटका हिमाल अर्याललाई पनि अर्थमन्त्री वाग्लेले पुरस्कार रकम हस्तान्तरण गरे । अर्यालले साथीहरूसँग आइसक्रिम खाँदा गरेको कारोबारबाट एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका थिए । पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी भएपछि अर्यालले एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

    आन्तरिक राजस्व विभागका अनुसार साउन महिनाको पहिलो पाक्षिकका अन्य विजेतालाई यसै साता सम्बन्धित आन्तरिक राजस्व कार्यालयमार्फत नगद पुरस्कार प्रदान गरिनेछ । सरकारले कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउन तथा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र दिने संस्कार विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images