images
images
  • आगामी प्रदेश र स्थानीय निर्वाचनमा बागमती सत्ता कब्जा गर्ने रणनीतिमा कुलमान

    काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तीव्र बनाएको छ ।

    पार्टीले विशेषगरी बागमती प्रदेशलाई केन्द्रमा राखेर कांग्रेस, एमाले र नेकपालाई चुनौती दिने रणनीति बनाएको छ ।

    उज्यालो नेपालले फागुनको निर्वाचनमा बागमतीबाट १ लाख १६ हजार ५५२ समानुपातिक मत पाएको थियो ।

    यही मतलाई आधार बनाएर पार्टीले स्थानीय तहदेखि प्रदेश सभासम्म संगठन विस्तार गरिरहेको जनाएको छ ।

    पार्टीका नेताहरूका अनुसार मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र सिन्धुलीलगायत जिल्लामा संगठन विस्तार भइरहेको छ ।

    कांग्रेस, एमाले र नेकपाबाट निर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तासमेत पार्टीमा आउने इच्छा देखाइरहेको दाबी गरिएको छ ।

    पार्टीका नेताहरूले रास्वपा सरकारमा रहेर जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै त्यसको राजनीतिक लाभ उज्यालो नेपालले लिन सक्ने आकलन गरेका छन् ।

    विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोकप्रिय बनेका कुलमान घिसिङको छविलाई चुनावी आधार बनाउने पार्टीको रणनीति छ ।

    घिसिङ आफैँ बागमती प्रदेशअन्तर्गत रामेछापका स्थायी बासिन्दा भएकाले पनि बागमतीलाई प्राथमिकतामा राखिएको नेताहरू बताउँछन् ।

    पार्टी अध्यक्ष घिसिङ स्वयं संगठन विस्तारमा सक्रिय छन् ।

    उज्यालो नेपालले बागमतीमा एक्लै सरकार गठन गर्न सक्ने गरी चुनाव जित्ने लक्ष्यसहित तयारी अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images