images
images
  • एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम

    काठमाडौं– नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स ९आईओटी० सिम जडान हुने भएको छ। यसका लागि एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकबीच साझेदारी भएको छ । साझेदारीअनुसार अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक सवारीसाधनमा एनसेलको आईओटी सिम जडान गरिनेछ । यसबाट ग्राहकले मोबाइल फोन वा छुट्टै वाई–फाई हटस्पटको आवश्यकता बिना नै सवारीसाधनभित्र इन्टरनेट कनेक्टिभिटी प्रयोग गर्न सक्नेछन् ।

    आईओटी सिममार्फत बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरू सञ्चालन गर्न सकिनेछ। ग्राहकले सवारीसाधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जनको प्रयोग गर्न सक्नेछन्। यद्यपि उपलब्ध सुविधाहरू सवारीसाधनको मोडल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवाअनुसार फरक हुने कम्पनीले जनाएको छ ।एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा थप सहज बनाउने बताए ।

    ncell 3

    उनका अनुसार प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध भएपछि प्रयोगकर्ताले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर हुनुपर्ने अवस्था कम हुनेछ। एनसेलको देशव्यापी नेटवर्कमार्फत बाटोमा यात्रा गर्दा वा ट्राफिकमा रहँदा पनि कनेक्टेड सेवा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यो सुविधा नयाँ बीवाईडी ग्राहकमा मात्र सीमित रहने छैन। यसअघि नै बीवाईडीका सवारीसाधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर आफ्नो सवारीसाधनमा एनसेलको आईओटी सिम जडान गरी उपलब्ध सुविधा लिन सक्नेछन् ।

    साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडी ग्राहकको अनुभवलाई थप उन्नत बनाउने बताए। भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका इन्टेलिजेन्ट सुविधाको पूर्ण प्रयोगमा ग्राहकलाई सहयोग पुग्ने उनको भनाइ छ । कम्पनीका अनुसार ग्राहकअनुसारको कनेक्टिभिटी प्लान, त्यसको वैधता अवधि र शुल्क सवारीसाधन तथा सेवा प्याकेजअनुसार फरक हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images