काठमाडौं– कोशी प्रदेशमा करिब चार वर्षको अवधिमा ६ पटक मुख्यमन्त्री परिवर्तन भएका छन् भने ४३ जना प्रदेशसभा सदस्यले मन्त्री बन्ने अवसर पाएका छन् ।
९३ सदस्यीय प्रदेश सभामा ५५ जनाले मन्त्रीसहित विभिन्न राजनीतिक पद पाएका छन् ।
२०७९ पुसमा एमालेका हिक्मत कार्कीबाट सुरु भएको सरकार फेरबदलको क्रम कांग्रेसका उद्धव थापा, केदार कार्की हुँदै पुनः हिक्मत कार्की नेतृत्वको सरकारसम्म पुगेको छ ।
केन्द्रमा हुने सत्ता समीकरण परिवर्तनको प्रत्यक्ष असर कोशी प्रदेशमा पर्दै आएको छ ।
प्रदेशमा मन्त्रीहरूको कार्यकालसमेत स्थिर रहन सकेको छैन ।
अधिकांश मन्त्रीले डेढ वर्षभन्दा बढी जिम्मेवारी सम्हाल्न नपाएको विवरणले देखाउँछ ।
सोमबार नेकपाबाट पाँच जना मन्त्री थपिएसँगै दोस्रो प्रदेशसभाको अवधिमा मन्त्री बन्ने सांसदको संख्या ४३ पुगेको हो ।
नयाँ विस्तारसँगै कांग्रेस प्रमुख प्रतिपक्षी बनेको छ ।























