images
images
  • साउनमा वैदेशिक लगानी प्रतिबद्धता ८४ प्रतिशत घट्यो

    काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता करिब ८४ प्रतिशतले घटेको हो ।

    उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो । चालु आर्थिक वर्षको साउनमा भने ३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको मात्रै वैदेशिक लगानी स्वीकृत भएको छ ।

    गत वर्षको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता २० अर्ब ३३ करोड २१ लाख ११ हजार रुपैयाँले घटेको हो। गत वर्ष एउटै परियोजनामा २० अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो। उक्त ठूलो परियोजनाका कारण पनि गत वर्षको लगानी प्रतिबद्धता उच्च देखिएको हो ।

    लगानी प्रतिबद्धता घटे पनि स्वीकृत उद्योगको संख्या भने बढेको छ। गत वर्षको साउनमा १२७ वटा उद्योग स्वीकृत भएकोमा चालु आर्थिक वर्षको साउनमा १९१ वटा उद्योग स्वीकृत भएका छन् ।

    स्वचालित प्रक्रियाबाट लगानी स्वीकृति लिने उद्योगको संख्या भने उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ८१ वटा उद्योगले स्वचालित प्रक्रियाबाट लगानी स्वीकृति लिएकोमा यस वर्ष यस्तो संख्या बढेर १८७ पुगेको छ । तर, स्वीकृति प्रक्रियाबाट लगानी लिने उद्योगको संख्या भने ४६ बाट घटेर चार वटामा सीमित भएको छ ।

    नयाँ लगानीबाट सिर्जना हुने प्रस्तावित रोजगारीको संख्या पनि घटेको छ। गत वर्षको साउनमा ८ हजार २६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएकोमा चालु आर्थिक वर्षको साउनमा १ हजार ७७३ जनाका लागि मात्रै रोजगारी प्रस्ताव गरिएको छ ।

    चालु आर्थिक वर्षको साउनमा स्वीकृत उद्योगमध्ये १८८ वटा साना उद्योग छन्। गत वर्षको साउनमा साना उद्योगको संख्या १२५ थियो । यस वर्ष दुईवटा मझौला उद्योग स्वीकृत भएका छन्। गत वर्ष भने मझौला उद्योग स्वीकृत भएका थिएनन्। ठूला उद्योगको संख्या भने गत वर्षको दुईवटाबाट घटेर यस वर्ष एउटा मात्रै रहेको छ ।

    क्षेत्रगत रूपमा हेर्दा कृषि तथा वन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा ठूलो दरले घटेको छ। गत वर्षको साउनमा यस क्षेत्रमा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा यस वर्ष २ करोड रुपैयाँमा सीमित भएको छ ।

    पर्यटन क्षेत्रमा पनि लगानी प्रतिबद्धता घटेको छ। गत वर्षको साउनमा पर्यटन क्षेत्रमा ३ अर्ब २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा यस वर्ष घटेर १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

    उत्पादनमूलक क्षेत्रमा भने वैदेशिक लगानी प्रतिबद्धता बढेको छ। गत वर्ष १५ करोड ५० लाख रुपैयाँ रहेको प्रतिबद्धता यस वर्ष बढेर ८४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । सेवा क्षेत्रमा पनि लगानी प्रतिबद्धता बढेको छ। गत वर्ष ३३ करोड ५० लाख रुपैयाँ रहेको प्रतिबद्धता यस वर्ष ६८ करोड २० लाख रुपैयाँ पुगेको छ ।

    सूचना प्रविधि क्षेत्रमा पनि वैदेशिक लगानी प्रतिबद्धता बढेको छ। गत वर्षको साउनमा ३६ करोड ५२ लाख रुपैयाँ प्रतिबद्धता आएकोमा यस वर्ष बढेर ५६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसैबीच, विदेशी लगानीकर्ताका लागि व्यवसायिक प्रवेशाज्ञा सिफारिसको संख्या भने उल्लेख्य रूपमा घटेको छ। गत वर्षको साउनमा १९४ वटा सिफारिस भएकोमा यस वर्ष ५० वटामा सीमित भएको छ ।

    विदेशी लगानीबाट प्राप्त हुने लाभांश फिर्ता लैजाने रकम पनि चालु आर्थिक वर्षको साउनमा शून्य रहेको छ। गत वर्षको सोही महिनामा २ अर्ब ९० करोड ७७ लाख ८९ हजार रुपैयाँ लाभांश फिर्ता भएको थियो ।

    रोयल्टीबापत बाहिरिएको रकम भने बढेको छ। गत वर्षको साउनमा १८ करोड ४० लाख रुपैयाँ रोयल्टीबापत बाहिरिएकोमा यस वर्ष बढेर २४ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्षको साउनमा सेवा शुल्कबापत १ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको उद्योग विभागको तथ्यांकले देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images