काठमाडौं– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा। घनश्याम उपाध्यायले पुरस्कार विजेताको घोषणा गरेका हुन् ।
साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तालाई पुरस्कार योजनामा समावेश गरिएको थियो । सो अवधिमा गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर पुरस्कार जितेका छन् ।
ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार हात पारेका हुन् । सामान्य पुरस्कारतर्फ भने १५ जना उपभोक्ता छनोट भएका छन् । उनीहरूले जनही एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
आन्तरिक राजस्व विभागका अनुसार पुरस्कार योजनाको सुरुआती महिनामै सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
विभागले नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई खरिदको प्रमाणका रूपमा बिल लिन प्रेरित गर्ने तथा कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गरेको हो ।
कम रकमको खरिदबाट समेत ठूलो पुरस्कार जित्न सकिने भएपछि कार्यक्रमप्रति उपभोक्ताको आकर्षण बढेको विभागले जनाएको छ ।


विश्व खबर 




















