images
images
  • करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै

    काठमाडौं– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारका विजेता आज घोषणा हुने भएका छन् । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत विजेताको घोषणा गर्ने तयारी गरेको छ ।

    साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्ता दोस्रो पाक्षिक पुरस्कारका लागि सहभागी भएका छन् । विभागका अनुसार पुरस्कार योजनाको सुरुआती महिनामै सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

    साउन १६ देखि ३१ गतेसम्मको अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका छन् । साउनको पहिलो १५ दिनमा भने पुरस्कारका लागि बिल दर्ता गर्नेको सङ्ख्या ७ हजार ७७ मात्र थियो ।

    त्यस्तै, विद्युतीय भुक्तानीमार्फत स्वतः पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको कारोबार सङ्ख्या पनि उल्लेख्य बढेको छ। यस्तो कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो १७ दिनमा पुरस्कार योजनामा सहभागी कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।

    १७ जनाले पाउनेछन् जनही १ लाख

    आज हुने छनोटबाट साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि एक–एक जना गरी १७ जना विजेता छनोट गरिनेछ। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । पुरस्कारमा लाग्ने कर कटाएपछि विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    यसैगरी, सबै सहभागीमध्येबाट एक जनालाई बम्पर पुरस्कार प्रदान गरिनेछ। बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

    आजको कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा पुरस्कार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ । करदाता प्रोत्साहन पुरस्कार योजनामार्फत उपभोक्तालाई नियमसम्मत कारोबार गर्न प्रोत्साहित गर्दै कर प्रणालीमा सहभागिता र विद्युतीय कारोबार विस्तार गर्ने सरकारको उद्देश्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images