काठमाडौं– आन्तरिक राजस्व विभागको प्राइज पोर्टलमा नगद कारोबारका बिल अपलोड गर्ने उपभोक्ताको संख्या पछिल्लो १६ दिनमा उल्लेख्य रूपमा बढेको छ । विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल प्राइज पोर्टलमा दर्ता भएका छन्। साउनको पहिलो १५ दिनमा भने ७ हजार ७७ वटा मात्र नगद कारोबारका बिल दर्ता भएका थिए ।
यससँगै क्युआर कारोबारमार्फत स्वतः पुरस्कार कार्यक्रममा सहभागी हुने उपभोक्ताको संख्या पनि बढेको छ। यस्तो कारोबारमार्फत सहभागी हुनेको संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो १७ दिनमा प्राइज पोर्टलमा कुल ३ करोड २४ लाख ४३ हजार २२९ वटा कारोबार दर्ता भएका छन् ।
आज १७ जना विजेता छनोट हुँदै
विभागले साउन १६ देखि ३१ गतेसम्म दर्ता भएका कारोबारबाट आज १७ जना विजेता छनोट गर्ने जनाएको छ। प्रत्येक दिनका लागि एक जना विजेता छनोट गरिनेछ । छनोट भएका १७ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । पुरस्कारमा लाग्ने कर कटाएपछि विजेताको हातमा १ लाख रुपैयाँ पर्नेछ । यसैगरी, आज एक जनालाई बम्पर उपहार प्रदान गरिनेछ। बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उक्त पुरस्कारमा २५ प्रतिशत कर लाग्नेछ ।
विभागले गत साउनको पहिलो पाक्षिकमा छनोट भएका विजेतालाई आजै नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । प्राइज पोर्टलमार्फत उपभोक्तालाई खरिदको बिल दर्ता गर्न प्रोत्साहित गर्दै कर प्रणालीमा सहभागिता बढाउने उद्देश्यले यस्तो पुरस्कार कार्यक्रम सञ्चालन हुँदै आएको छ ।


विश्व खबर 




















