काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारी राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनमा सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व तथा अन्य आम्दानी सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोड रुपैयाँ बढी हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा कर राजस्वबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ सङ्कलन भएको छ। गैरकर राजस्वतर्फ ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, सरकारले पहिलो महिनामा २४ करोड ३ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता प्राप्त गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। पहिलो महिनाको राजस्व सङ्कलनले वार्षिक लक्ष्यतर्फ सकारात्मक सुरुआत देखाएको छ ।
पहिलो महिनामा ४१ अर्बभन्दा बढी खर्च
राजस्व सङ्कलन बढे पनि सरकारी खर्च भने तुलनात्मक रूपमा न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ। साउनमा भएको खर्च कुल वार्षिक विनियोजनको १।९७ प्रतिशत हो।
कुल खर्चमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये साउन मसान्तसम्म २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ अर्थात् १।६८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएकोमा पहिलो महिनामा विनियोजनको ०.३१ प्रतिशत मात्र खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो वित्तीय व्यवस्थाका लागि गरिएको वार्षिक विनियोजनको ४.५३ प्रतिशत हो । पहिलो महिनाको तथ्याङ्कले सरकारको राजस्व सङ्कलनमा सुधार देखिए पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको गति भने अझै सुस्त रहेको देखाएको छ ।


विश्व खबर 




















