images
images
  • नाइमा मोबिलिटी एक्स्पोमा १ लाख ८९ हजारभन्दा बढी दर्शक, विद्युतीय गाडीमा बढ्दो आकर्षण

    काठमाडौं – भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा १ लाख ८९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। ६ दिनसम्म चलेको एक्स्पोको अन्तिम दिन आइतबार सार्वजनिक बिदासमेत परेकाले अवलोकनकर्ता र सवारीसाधन बुकिङ गर्न आउनेको उल्लेख्य भीड लागेको थियो ।

    आयोजकका अनुसार एक्स्पोको अघिल्लो दिन शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। अन्तिम दिन परिवारका सदस्यसहित एक्स्पोमा आउनेको संख्या पनि उल्लेख्य थियो ।

    एक्स्पोमा अवलोकनकर्ताको मुख्य आकर्षण विद्युतीय सवारीसाधन बनेका थिए। पछिल्लो समय विद्युतीय गाडीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको एक्स्पोमा देखिएको थियो ।

    विद्युतीय गाडी खरिद गर्ने योजनासहित एक्स्पो पुगेकी मोडल करुणा पाण्डेले विद्युतीय सवारीसाधनमा देखिएको आकर्षणबाट आफू प्रभावित भएको बताइन् । उनका अनुसार यसअघि विद्युतीय गाडीबारे नकारात्मक धारणा बढी सुनिए पनि अहिले अवस्था परिवर्तन भएको छ ।

    उनले एक्स्पोबाट विद्युतीय गाडीबारे प्रत्यक्ष जानकारी लिन सहज भएको बताउँदै आफूले विद्युतीय कार बुकिङसमेत गरेको जानकारी दिइन् । एक्स्पोमा सवारीसाधन खरिद गर्दा वित्तीय सुविधा, बिमा तथा सडक करसम्बन्धी विभिन्न सुविधा उपलब्ध गराइएकाले खरिद प्रक्रिया थप सहज बनेको उनको भनाइ थियो ।

    जोरपाटीका ओम गौतम पनि विद्युतीय कार खरिद गर्ने योजनासहित साथीहरूसँग एक्स्पो पुगेका थिए। उनको चासो टाटाको पन्च विद्युतीय गाडी र चेरी क्यूमा थियो। दुईमध्ये एउटा गाडी दसैँअघि खरिद गर्ने तयारीमा रहेको उनले बताए ।

    एउटै स्थानमा विभिन्न ब्रान्डका कार, मोटरसाइकल तथा स्कुटर हेर्न र तुलना गर्न पाइने भएकाले एक्स्पो उपयोगी भएको गौतमको भनाइ थियो ।
    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा ५३ वटा प्रदर्शनी कक्षमार्फत ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए ।

    एक्स्पोमा १८ लाख ५० हजार रुपैयाँदेखि २ करोड ९७ लाख रुपैयाँसम्म मूल्य पर्ने चारपांग्रे सवारीसाधन प्रदर्शनमा राखिएका थिए। दुईपांग्रे सवारीसाधनतर्फ १५ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइकल तथा अन्य सवारीसाधन राखिएका थिए ।

    अधिकांश कम्पनीले एक्स्पोका लागि विशेष छुट तथा सुविधा घोषणा गरेका थिए। चारपांग्रे सवारीसाधनमा १ लाखदेखि ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको थियो। दुईपांग्रे सवारीसाधनका कम्पनीबीच पनि छुट तथा अन्य सुविधा दिने प्रतिस्पर्धा देखिएको थियो ।

    एक्स्पोमा भएका सवारीसाधनको बुकिङको यकिन विवरण सार्वजनिक भइनसके पनि गत वर्षको तुलनामा यसपटक बुकिङ उत्साहजनक रहेको नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले बताए ।

    उनका अनुसार गत वर्ष ५० वटा बुकिङ गरेको केही कम्पनीले यसपटक २५० वटासम्म बुकिङ गरेको जानकारी प्राप्त भएको छ। विशेषगरी बजारमा स्थापित ब्रान्डका सवारीसाधनमा सर्वसाधारणको चासो र बुकिङ बढी देखिएको उनले बताए ।

    नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो अवधिभर १ लाख ८० हजारभन्दा बढीले अवलोकन गरेको बताइन्। एक्स्पोमा विभिन्न नयाँ सवारीसाधन तथा नयाँ मोडल सार्वजनिक गरिएको र अवलोकनकर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनको भनाइ थियो ।

    उनले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई नयाँ प्रविधि, ज्ञान र सिकाइको माध्यमका रूपमा विकास गर्ने उद्देश्य रहेको बताइन् । आगामी दिनमा अझ ठूलो र प्रभावकारी रूपमा एक्स्पो आयोजना गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन् ।

    नाइमा एक्स्पो व्यवस्थापन समितिका संयोजक गौरव शारडाले पनि गत वर्षको तुलनामा यसपटक एक्स्पो अपेक्षाभन्दा राम्रो भएको बताए । उल्लेख्य सहभागिताका साथै विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेकाले एक्स्पोले नेपाली बजारमा चाडपर्वको मौसम सुरु भएको संकेत गरेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images