काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ नामी भिगो ई२ नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट १९, २०२६ मा भिगो ई२ सार्वजनिक गर्न लागेको हो ।
कम्पनीका अनुसार भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा नेपाली बजारमा प्रस्तुत गरिनेछ । पर्याप्त ठाउँ, आधुनिक सुविधा र व्यावहारिक कार्यक्षमतासहित नयाँ भिगो ई२ ले ग्राहकलाई पूर्ण विद्युतीय एसयूभी अनुभव दिने लक्ष्य राखेको छ ।
नेपालमा नामीका विद्युतीय गाडीले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ। हालसम्म देशभर २ हजारभन्दा बढी नामीका गाडी सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । नामी भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटालगायत चुनौतीपूर्ण गन्तव्यमा समेत यात्रा गरिसकेको कम्पनीले जनाएको छ। यस्ता यात्रामार्फत भिगोले कठिन भूगोलमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको कम्पनीको भनाइ छ ।
नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो भित्री भाग र व्यावहारिक कार्यक्षमतालाई निरन्तरता दिनेछ। दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी नयाँ गाडी तयार गरिएको कम्पनीले जनाएको छ । भिगो ई२ को आधिकारिक मूल्य तथा अन्य प्राविधिक र उत्पादनसम्बन्धी सम्पूर्ण विवरण अगस्ट १९ मा आयोजना हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिने कम्पनीले जनाएको छ ।


विश्व खबर 




















