images
images
  • निर्जीवन बीमा कम्पनीको नाफामा ३९ प्रतिशतको पहिरो, आइजिआइ प्रुडेन्सियलको नाफा ९९ प्रतिशत घट्यो

    काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १४ निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा ३९.२१ प्रतिशतले घटेको हो ।

    कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

    यसअनुसार एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीले घटेको देखिन्छ ।

    ओरियन्टलको सानदार पुनरागमन

    नाफामा सबैभन्दा उल्लेख्य सुधार गर्ने कम्पनीमा ओरियन्टल इन्स्योरेन्स रहेको छ। अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    यससँगै ओरियन्टल इन्स्योरेन्स १४ कम्पनीमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउने कम्पनी बनेको छ।

    यता नेसनल इन्स्योरेन्स भने लगातार घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षमा १५ करोड ७ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा पनि १३ करोड १० लाख रुपैयाँ नोक्सान व्यहोरेको छ। समीक्षा अवधिमा नोक्सानमा रहने १४ कम्पनीमध्ये नेसनल इन्स्योरेन्स एक मात्र कम्पनी हो।

    प्रभु इन्स्योरेन्सको नाफा मात्रै बढ्यो

    निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफा घटिरहेका बेला प्रभु इन्स्योरेन्सले भने नाफा वृद्धि गर्न सफल भएको छ ।

    प्रभु इन्स्योरेन्सको खुद नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    प्रभुबाहेक नाफामा रहेका अन्य कम्पनीहरूको खुद नाफा घटेको छ। अधिकांश कम्पनीको नाफामा १९ प्रतिशतदेखि ९८ प्रतिशतसम्मको गिरावट देखिएको छ ।

    सलिको दोस्रो, राष्ट्रिय बीमा कम्पनी तेस्रो

    ओरियन्टलपछि सबैभन्दा धेरै खुद नाफा कमाउने निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.७५ प्रतिशत कम हो ।

    त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १९.४६ प्रतिशतले घटेको हो।

    हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    यी कम्पनीहरूको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ।

    आइजिआइ प्रुडेन्सियलको नाफामा ९८.८९ प्रतिशतको गिरावट

    प्रतिशतका आधारमा सबैभन्दा ठूलो नाफा गिरावट आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा देखिएको छ।

    अघिल्लो आर्थिक वर्षमा ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा आर्थिक वर्ष २०८२/८३ मा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

    त्यस्तै, शिखर इन्स्योरेन्सको खुद नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा झरेको छ। सानिमा जिआइसी इन्स्योरेन्सको नाफा ६१.३९ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ।

    नेपाल इन्स्योरेन्सले १२ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ३० लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    यी कम्पनीहरूको खुद नाफा क्रमशः ५९.६९ प्रतिशत, ६४.५५ प्रतिशत र ६२.३१ प्रतिशतले घटेको हो ।

    समग्रमा हेर्दा आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य दबाब परेको देखिन्छ । अधिकांश कम्पनीको नाफा घट्दा ओरियन्टल इन्स्योरेन्सको पुनरागमन र प्रभु इन्स्योरेन्सको नाफा वृद्धिले भने सकारात्मक संकेत दिएको छ। तर, आइजिआइ प्रुडेन्सियललगायत केही कम्पनीको नाफामा आएको अत्यधिक गिरावटले निर्जीवन बीमा क्षेत्रमा नाफाको अवस्था कमजोर बनेको देखाएको छ ।

    cm BWQMJlfGrJ 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images