images
images
  • साउनमा राजस्व ८.२५ प्रतिशतले बढ्यो, खर्च भने घट्यो

    काठमाडौं–  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ । साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

    सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन २७ प्रतिशतले बढाएर १५ खर्ब ८० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । साउनमा संकलित कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको साउनमा ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो। यस वर्ष कर राजस्व ४ अर्ब ५१ करोड ९९ लाख रुपैयाँले बढेको हो ।

     

    गैरकर राजस्वमा भने अझ उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ गैरकर राजस्व संकलन भएको छ । गत वर्षको साउनमा गैरकर राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ थियो । यद्यपि, सरकारले लिएको उच्च राजस्व लक्ष्यको तुलनामा पहिलो महिनाको संकलनको गति अपेक्षाकृत कमजोर देखिएको छ । वार्षिक लक्ष्य १५ खर्ब ८० अर्ब रुपैयाँ पूरा गर्न साउनमा संकलित रकमपछि बाँकी ११ महिनामा औसतमा मासिक १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउनुपर्ने देखिन्छ ।

     

    यसैबीच, सरकारको कुल प्राप्ति चालु आर्थिक वर्षको पहिलो महिनामा ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ थियो । राजस्व संकलन बढे पनि सरकारी खर्च भने घटेको छ । चालु आर्थिक वर्षको साउनसम्म सरकारी कोषबाट ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको सोही अवधिमा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ खर्च भएको थियो ।

     

    चालु आर्थिक वर्षको पहिलो महिनामा चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ, पूँजीगततर्फ १३ अर्ब २८ करोड ५० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यसले पहिलो महिनामा राजस्व संकलनमा सामान्य सुधार देखिए पनि सरकारले लिएको वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा राजस्व वृद्धिको गति उल्लेख्य रूपमा बढाउनुपर्ने अवस्था देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images