images
images
  • वाणिज्य बैंकहरूको नाफा ३२ प्रतिशतले बढ्यो, प्रभु बैंक घाटामा

    काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा उल्लेख्य सुधार गरेका छन् । सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५ अर्ब २८ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी खुद नाफा कमाउने बैंक नबिल रहेको छ । नबिलले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३.४९ प्रतिशत बढी हो । ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

    प्रतिशतका आधारमा हिमालयन बैंकले सबैभन्दा ठूलो सुधार गरेको छ । बैंकको नाफा १०४१.१६ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । कुमारी बैंकको नाफा पनि ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, सिटिजन्स बैंकको नाफा ६३.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत, नेपाल बैंकको ४६.२० प्रतिशत, सानिमाको ३८ प्रतिशत, प्राइमको २८.४८ प्रतिशत, नेपाल एसबिआईको १२.८८ प्रतिशत, माछापुच्छ्रेको १२.३३ प्रतिशत, एभरेष्टको ४.७५ प्रतिशत र सिद्धार्थको ४.५३ प्रतिशतले बढेको छ । पाँच बैंकको नाफा घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.५८ प्रतिशत, कृषि विकास बैंकको २९.५१ प्रतिशत, लक्ष्मी सनराइजको २३.२६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डको ५.३८ प्रतिशतले घटेको छ ।

    प्रभु बैंक भने गत आर्थिक वर्षमा घाटामा गएको छ। बैंकले २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा रहेको एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा सुधार गर्दै १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images