images
images
  • र्‍याडिसनमा ग्यासको मौज्दातलाई अस्वाभाविक भन्नु उचित होइन : चेम्बर

    काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दातलाई अस्वाभाविक रूपमा प्रस्तुत गरिएको भन्दै चेम्बरले आइतबार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण जनाएको हो ।

    चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु सामान्य हो । त्यसैले र्‍याडिसन होटलमा करिब २०० सिलिन्डर मौज्दात रहनुलाई पनि व्यावसायिक आवश्यकताकै रूपमा बुझ्नुपर्ने चेम्बरको भनाइ छ । व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नभएको चेम्बरले जनाएको छ ।

    चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध रूपमा सञ्चालित व्यवसायलाई असर पर्ने गरी अपूर्ण वा सन्दर्भहीन सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ ।  यस्ता अतिरञ्जित प्रचारले निजी क्षेत्र, पर्यटन उद्योग तथा लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने चेम्बरको भनाइ छ ।

    होटल, पर्यटन तथा अन्य व्यवसायमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए सम्बन्धित निकायले व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद तथा समन्वय गरेर समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ। व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र सञ्चालनलाई सहजीकरण गर्ने वातावरण बनाउनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images