images
images
  • आन्तरिक विवादका कारण एक महिना ढिलो कोटहीमाईको बजेट

    काठमाडौं– आन्तरिक विवादका कारण चालू आर्थिक वर्ष सुरु भएको एक महिनापछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।  गाउँपालिकाले शनिबार सम्पन्न १९औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि विवादका कारण कोटहीमाईमा बजेट प्रस्तुत हुन सकेको थिएन ।

    गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुशीलाकुमारी यादवले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ८८ करोड ५६ लाख ६४ हजार ९३ रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेको छ ।

    बजेटमा कृषि, पशुपालन, सहकारी, पर्यटन तथा आर्थिक विकासका लागि ३ करोड ५९ लाख ३५ हजार रुपैयाँ, स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा सामाजिक विकासतर्फ १३ करोड १६ लाख २५ हजार ४० रुपैयाँ र सडक, नाला तथा अन्य पूर्वाधारतर्फ १३ करोड १६ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १५ लाख ४५ हजार रुपैयाँ तथा कार्य सञ्चालन, संस्थागत विकास र सुशासनतर्फ १३ करोड ३ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ ।

    गाउँसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बजेट ढिलो आए पनि अब कार्ययोजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिए । उनले बाँकी अवधिमा बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images