images
images
  • कैलालीका ३७३ किसानलाई साढे पाँच करोडभन्दा बढी अनुदान

    काठमाडौं– कैलालीका १३ वटै स्थानीय तहमा सञ्चालित ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रमका लागि गत आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएका छन् । स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै किसानको आयआर्जन बढाउने र उत्पादनमा थप किसानलाई जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले बताए ।

    कार्यक्रमअन्तर्गत बाख्रा, भैँसी, बङ्गुर तथा माछापालन गर्ने फार्म, समूह र सहकारीलाई अनुदान दिइएको हो ।

    चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई ४० लाख तथा गौरीगङ्गा नगरपालिकाका ४२ बाख्रा फार्मलाई ८० लाख रुपैयाँ अनुदान दिइएको छ ।

    त्यस्तै, घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई ५० लाख, टीकापुरका सात भैँसी फार्मलाई ५० लाख, जानकीका तीन भैँसी फार्मलाई ४० लाख, भजनीका चार भैँसी फार्मलाई ४० लाख र धनगढीका २२ भैँसी फार्मलाई ५० लाख रुपैयाँ अनुदान दिइएको केन्द्रले जनाएको छ ।

    बर्दगोरियाका तीन माछापालन फार्म, जोशीपुरका तीन बाख्रा फार्म तथा कैलारीका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई पनि ४०–४० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ ।

    यस अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताए।

    यसैगरी, एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप एक लाख ७८ हजार रुपैयाँका दरले अनुदान दिइएको छ ।

    सामुदायिक पशु व्यवस्थापनअन्तर्गत तीन वटा गौशालाको थप व्यवस्थापनका लागि नौ लाख ५० हजार रुपैयाँ तथा हलगोरु र राँगा पाल्दै आएका ५५१ किसानलाई प्रतिकिसान दुई हजार ७०० रुपैयाँका दरले १४ लाख ८७ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको केन्द्रले जनाएको छ ।

    कार्यक्रमबाट कैलालीमा पशुपालन तथा माछापालन व्यवसाय विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images