काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार सहयोग गर्न तयार रहेको बताएका हुन् ।
उनले नेपाली इन्जिनियर तथा डिजाइनरले गरेको मेहनतको प्रशंसा गर्दै नेपालमै डिजाइन भएर विद्युतीय स्कुटर निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
“यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो । गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्, अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ,” उनले भने ।
अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउने योजनासहित अघि बढ्न कम्पनीलाई सुझाव दिए । नेपालमै उत्पादनका लागि सरकारले आवश्यक सहयोग गर्न सक्ने भन्दै उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने विषयमा समेत सोच्न आग्रह गरे ।
नेपालले आफ्नै डिजाइन र प्रविधिमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उनले नेपाली उत्पादन विश्वका विभिन्न मुलुकमा प्रयोग भएको हेर्न चाहेको बताए ।
सो अवसरमा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन र उत्पादन गरेर महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनका अनुसार कठिन पहाडी तथा हिमाली भूभागमा सफल परीक्षणपछि स्कुटरलाई केही दिनमै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
कम्पनीका अधिकारीहरूले नेपालमै निर्मित उक्त स्कुटरमा प्रत्यक्ष प्रवाह चार्जरको सुविधा रहेको र यस्तो सुविधा भएको दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माणमा यो विश्वकै पहिलो सफलता भएको दाबी गरेका छन् ।
श्रेष्ठले नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन विद्युतीय ब्याट्री तथा स्कुटरका पार्टपुर्जाका लागि आवश्यक कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने बताए ।
नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए । अहिले उक्त कम्पनी सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा सञ्चालनमा छ।
कम्पनीले आफ्नै डिजाइन तथा इन्जिनियरिङमा तयार गरेको स्कुटरको गुणस्तर परीक्षणसमेत गराइसकेको जनाएको छ । हाललाई गोप्य राखिएको स्कुटर केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको छ ।


विश्व खबर 




















