काठमाडौं– कुनै समय विद्युत् अभाव झेलेको नेपाल अहिले उत्पादन बढेसँगै नयाँ चरणमा प्रवेश गरेको छ । अब मुलुकको मुख्य चुनौती विद्युत् उत्पादन होइन, उत्पादित बिजुलीको बजार खोज्नु, प्रसारण गर्नु र त्यसबाट आर्थिक लाभ लिनु बनेको छ ।
नेपालमा करिब २ हजार २ सय मेगावाट जडित क्षमता पुगिसकेको छ भने करिब ७ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको छ। थप ३ देखि ४ हजार मेगावाटका आयोजना निर्माणाधीन छन् ।
ऊर्जा क्षेत्रका जानकारहरूले उत्पादन बढ्दै गएकाले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने बताएका छन्। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन सकिने बताएका छन् ।
उनका अनुसार खुला पहुँचको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके उत्पादकले आफ्ना ग्राहकसम्म विद्यमान प्रसारण प्रणालीमार्फत विद्युत् पुर्याउन सक्छन् । यसले विद्युत् व्यापारमा प्रतिस्पर्धा बढाउन सहयोग पुग्नेछ ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले उत्पादन बढ्दै जाँदा मुलुक विद्युत् बचततर्फ अघि बढिरहेको बताए। उनका अनुसार अब स्वदेशी खपत बढाउनुका साथै भारत र बङ्गलादेशलगायत क्षेत्रीय बजारमा विद्युत् निर्यात विस्तार गर्नुपर्ने आवश्यकता छ ।
ऊर्जा क्षेत्रका जानकारहरूले उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तार, स्वदेशी विद्युत् खपत, निजी क्षेत्रको सहभागिता र प्रतिस्पर्धी बजार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।


विश्व खबर 




















