images
images
  • नाइमा एक्स्पोको आज अन्तिम दिन, पाँच दिनमै डेढ लाखभन्दा बढीले गरे अवलोकन

    काठमाडौं– भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आज आइतबार समापन हुँदैछ । पाँच दिनमै एक्स्पो अवलोकन गर्नेको संख्या डेढ लाख नाघेको आयोजकले जनाएको छ ।

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन् । आयोजकले छ दिनमा डेढ लाख जनाले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य अन्तिम दिनअघि नै पूरा भएपछि आयोजक उत्साहित बनेको छ ।

    अटो सो योजना समितिका अध्यक्ष गौरव सारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले एक्स्पो सफल भएको बताए । उनका अनुसार अन्तिम दिनसम्म कुर्नुअघि नै आयोजकले राखेको लक्ष्य पूरा भइसकेको छ ।

    एक्स्पोको उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । शनिबारको ४२ हजारसहित पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाखभन्दा बढी पुगेको हो ।

    एक्स्पोमा ५५ भन्दा बढी सवारीसाधनका ब्रान्ड सहभागी छन् । विभिन्न कम्पनीले नयाँ तथा विद्युतीय सवारीसाधनका नयाँ नमुना सार्वजनिक तथा प्रदर्शन गरेका छन् । धेरै विकल्प उपलब्ध भएकाले आफूलाई उपयुक्त सवारीसाधन छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन् ।

    अवलोकनकर्ताले विशेषगरी सवारीसाधनको ब्याट्री क्षमता, मोटर, एकपटकको चार्जमा पुग्ने दूरी, बिक्रीपछिको सेवा, ब्याट्रीको प्रत्याभूति तथा पुनः बिक्री मूल्यबारे चासो राखेका छन् ।

    एक्स्पोमा सवारीसाधन बुकिङको अवसरसमेत उपलब्ध गराइएको छ । आयोजकका अनुसार आफ्नो बजेट र आवश्यकताअनुसार सवारीसाधन छनोट तथा बुकिङ गर्न सकिने भएकाले पनि एक्स्पोमा उपभोक्ताको आकर्षण बढेको हो ।

    आज अन्तिम दिन भएकाले विभिन्न सवारीसाधनका प्रदर्शनी तथा विशेष आकर्षण अवलोकन गर्न ठूलो संख्यामा मानिस आउने अपेक्षा आयोजकले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images