images
images
  • विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिनुपर्नेमा जोड

    काठमाडौं– नेपालमा उत्पादित विद्युत्को बजार विस्तार गर्न निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन् । उनीहरूले विद्युत् बजार विस्तारका लागि नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापार : निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा सहभागी ऊर्जा क्षेत्रका जानकारहरूले एउटा मात्र निकायबाट ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने बताएका हुन् । उनीहरूले प्रतिस्पर्धात्मक विद्युत् बजार निर्माणका लागि निजी क्षेत्रलाई समेत व्यापारमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको अपार जलस्रोतलाई विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सरकार क्रियाशील रहेको बताए। उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको धारणा राखे ।

    मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् व्यापारबाट १८ अर्ब रुपैयाँभन्दा बढी खुद बचत भएको उनले जानकारी दिए ।

    अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत नेपाललाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाउने सरकारको लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताए ।

    पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने विषयमा विगतमा कानुन तर्जुमा भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताए ।

    नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान विद्युत् ऐनमै उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसैका आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताए ।

    विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले निजी क्षेत्रलाई आफ्नै उत्पादनका लागि ग्राहक खोज्न सक्ने व्यवस्था भएको खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।

    इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताए । इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको धारणा राखे।

    ऊर्जा उत्पादकहरूले उत्पादन बढ्दै जाँदा त्यसको बजार सुनिश्चित गर्न विद्युत् व्यापारमा प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै आएका छन्। निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउन सके भारतलगायत क्षेत्रीय बजारमा नेपालको विद्युत् बिक्री विस्तार गर्न सहज हुने उनीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images