images
images
  • भदौमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुनै बैंकले बढाएनन्

    काठमाडौं– वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैतर्फको औसत ब्याजदर घटेको छ।

    भदौका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यसपटक भने कुनै पनि वाणिज्य बैंकले ब्याजदर वृद्धि गरेका छैनन्।

    सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशतले घटाएको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१० प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशतले ब्याजदर कटौती गरेको छ।

    सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.१० प्रतिशतले घटाएको छ। कुमारी बैंकले व्यक्तिगततर्फ ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले ब्याजदर घटाएका छन्। यी तीनवटै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने साउनकै स्तरमा कायम राखेका छन्।

    यता नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

    नबिल र प्रभुको ब्याजदर सबैभन्दा बढी

    भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिने भएका छन्। दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।

    व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर भने कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ३.७६ प्रतिशत ब्याजदर दिने भएका छन्।

    संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा बढी ३.५० प्रतिशत ब्याजदर तोकेका छन्।

    त्यसैगरी प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर दिने भएका छन्।

    समग्रमा बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेकाले भदौमा पनि अधिकांश वाणिज्य बैंकले ब्याजदर यथावत् राख्दा केही बैंकले थप कटौती गरेका छन्। यसले आगामी दिनमा कर्जाको ब्याजदरमा समेत थप दबाब पर्न सक्ने संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images