काठमाडौं– नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास सिलिन्डर सट्टापट्टा गर्ने नाममा उपभोक्तासँग अतिरिक्त पैसा नलिन र नदिन आग्रह गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साटेर उपभोक्तासँग पैसा थप माग्नु गैरकानुनी कार्य भएको बताए।
घिमिरेका अनुसार बजारमा केही बिक्रेताले एउटा कम्पनीको सिलिन्डरको सट्टा अर्को कम्पनीको सिलिन्डर दिने र त्यसबापत अतिरिक्त रकम माग्ने गरेको गुनासो आएको छ। उनले यस्तो कार्यबाट सचेत रहन उपभोक्तालाई आग्रह गरे।
“कुनै पनि उद्योगले अर्को कम्पनीको सिलिन्डर लिँदैन र पैसा पनि फिर्ता दिँदैन। त्यसैले बिक्रेताले पैसा मागेमा उपभोक्ता सतर्क हुनुपर्छ,” उनले भने।
हाल नेपालभर करिब १ करोड ६५ लाख ग्यास सिलिन्डर प्रमाणीकरण भएर बजारमा रहेको जानकारी दिँदै उनले ग्यास आयातमा कुनै कमी नरहेको बताए। पछिल्लो समय ग्यास आयात करिब १५ प्रतिशतले बढेको उनको भनाइ छ।
“यसबिचमा ३२ हजार मेट्रिक टन ग्यास आयात भएको छ। काँकडभिट्टा नाकाबाट पनि निरन्तर ग्यास आइरहेको छ, त्यसैले अभाव भनेर आत्तिनुपर्ने अवस्था छैन,” घिमिरेले बताए।
ग्यास भण्डारणका विषयमा उनले धेरै सिलिन्डर एकै ठाउँमा थुपार्नु सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुने बताए। हाल होटल वा अन्य उपभोक्ताले कति ग्यास राख्न पाउने भन्ने स्पष्ट मापदण्ड नभए पनि त्यस्तो मापदण्ड तयार भइरहेको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार आगो नियन्त्रण प्रणाली र खुला ठाउँ भएको स्थानमा मात्र ग्यास सिलिन्डर भण्डारण गर्नुपर्ने सुझाव उनले दिए।
बजारमा देखिएको कृत्रिम अभाव हटाउन स्थानीय तह, टोल समिति र आमा समूह सक्रिय हुनुपर्नेमा जोड दिँदै घिमिरेले कसैले अनावश्यक रूपमा ग्यास लुकाएको भेटिए प्रशासनलाई जानकारी गराउन आग्रह गरे।
छिमेकीलाई समस्या परेको अवस्थामा सहयोग गर्न र अनावश्यक मौज्दात नगर्न उनले सबै उपभोक्तालाई अपिल गरेका छन्।


विश्व खबर 




















