images
images
  • धरान उपमहानगरको २ अर्ब ७६ करोडको बजेट पारित, सडकदेखि खानेपानीसम्मलाई प्राथमिकता

    काठमाडौं–  धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक किचलोका कारण धरानले करिब ५० दिनपछि बिहीबार सम्पन्न १९औँ नगरसभाबाट बजेट पारित गरेको हो।

    कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटमा सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । बजेटमध्ये नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँ र २० वटा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    उपमहानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार, संघीय अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकारको अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट १ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

    सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड र सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

    स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमा सशर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख रुपैयाँ समावेश गरिएको छ।

    शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ भने एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम पनि बजेटमा समेटिएको छ।

    सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ। सुकुम्बासी व्यवस्थापनका लागि ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालक दुर्घटना सहयोग कोषका लागि २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद तथा बाँदर नियन्त्रणका लागि १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि १० लाख र लैंगिक समानता तथा समावेशीकरण कार्यक्रमका लागि १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ।

    आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमध्ये संकटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँ राखिएको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापन क्षेत्रमा ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि मात्रै २ करोड रुपैयाँ छुट्याइएको छ । कानुन तथा न्याय सम्पादनतर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

    यसैगरी, चतरा–कोशी नदीबाट धरानमा खानेपानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारी गर्न आन्तरिक स्रोतबाट ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images