काठमाडौं– काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८३ मा तीन दिनमै ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन्। आयोजकका अनुसार पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी दर्शक एक्स्पोमा पुगेका हुन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। हालसम्म ५२ नयाँ मोडल सार्वजनिक भइसकेका आयोजकले जनाएको छ । चारपाङ्ग्रे सवारीमा १६–१७ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका मोडलहरू प्रदर्शनीमा छन्। दुईपाङ्ग्रे सवारीमा भने विशेषगरी युवापुस्ताको आकर्षण देखिएको छ।
अवलोकनकर्ताले सवारीको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्री वारेन्टी, पुनर्बिक्री मूल्यलगायत विषयमा विशेष चासो देखाएका छन् । ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत कर्जालगायत सुविधा प्रदान गरेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विशेष योजना सार्वजनिक गरेका छन् । साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब डेढ लाख दर्शक पुग्ने आयोजकको अपेक्षा रहेको छ।


विश्व खबर 




















