images
images
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    काठमाडौं– काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन् ।

    बरालले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। त्यसपछि उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

    उनको विज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्स क्षेत्रमा रहेको छ ।

    प्रा.डा. बरालले उपप्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापकसम्मको यात्रा काठमाडौं विश्वविद्यालयमै पूरा गरेका हुन्। उनले ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, ताप स्थानान्तरण, आन्तरिक दहन इन्जिन तथा ताप र शक्ति इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् ।

    उपकुलपति छनोटका लागि ३५ जनाको आवेदन परेको थियो । त्यसमध्ये १० जनाको छोटो सूची सार्वजनिक गरी प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । सिफारिस समितिले योग्यता र मेरिटका आधारमा बरालको नाम सिफारिस गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images