images
images
  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, ४ अर्ब ५५ करोड खुद मुनाफा

    काठमाडौं–  नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा खुद मुनाफा ६० दशमलव ६८ प्रतिशतले बढेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उल्लेखनीय वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

    आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव ८५ प्रतिशत बढी हो। कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, करअघिको खुद सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन ६४ दशमलव २६ प्रतिशतको वृद्धि हो ।

    अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा नरहेको बैंकले यस वर्ष १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको जनाएको छ ।

    गत असार मसान्तसम्म बैंकको कुल समग्र आम्दानी ३ अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको छ। सोही अवधिमा कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ र खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको तुलनामा निक्षेप ३७ दशमलव ११ प्रतिशत र कर्जा तथा सापट १२ दशमलव ५० प्रतिशतले बढेको बैंकले जनाएको छ ।

    बैंकको पुँजी कोष अनुपात ११ दशमलव ४० प्रतिशत, कर्जा–निक्षेप अनुपात ५० दशमलव ८७ प्रतिशत, आधारदर ४ दशमलव २० प्रतिशत र त्रैमासिक औसत आधारदर ४ दशमलव २२ प्रतिशत रहेको छ ।

    त्यस्तै, निष्क्रिय कर्जा अनुपात ३ दशमलव ९५ प्रतिशत, ब्याजदर अन्तर ३ दशमलव ३७ प्रतिशत, कोषको लागत दर २ दशमलव ९६ प्रतिशत र प्रतिशेयर आम्दानी २९ रुपैयाँ १४ पैसा रहेको छ ।

    हाल राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका ३१६ शाखा, ३३५ एटिएम र १ लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन् ।

    बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कुल ४८ लाख ७० हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृत भइसकेको छ ।

    प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको सफलतामा योगदान पुर्‍याउने निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images