काठमाडौं– कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत गरिएको डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ ।
बैंकका अनुसार अब कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत योग्य कारोबार गरी भुक्तानी गर्ने ग्राहकका कारोबार स्वतः लक्की ड्रमा समावेश हुनेछन् । यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन । ग्राहकले मोबाइल बैंकिङ एपमै आफ्ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्ने बैंकले जनाएको छ ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र गरिनेछ । विभागका अनुसार प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था छ ।
बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।डिजिटल भुक्तानी प्रवर्द्धन, कर प्रणालीमा सहभागिता वृद्धि तथा ग्राहकलाई अतिरिक्त लाभ उपलब्ध गराउने उद्देश्यले यो सुविधा ल्याइएको बैंकले जनाएको छ ।


विश्व खबर 




















