काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।
गत असार मसान्तसम्म बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँको तुलनामा १२ दशमलव २४ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि र गैरसञ्चालन खर्चमा कमी आएकाले बैंकको नाफा बढेको देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५ दशमलव ५३ प्रतिशतले बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २३ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ११ दशमलव ७४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ० दशमलव ५४ प्रतिशतले सुधारिएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको छ ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ९० पैसा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा कायम भएको छ भने मूल्य–आम्दानी अनुपात १४ दशमलव १८ गुणा रहेको छ ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ। जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।
माछापुच्छ्रे बैंकले असार मसान्तसम्म २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । विश्लेषकहरूका अनुसार शुल्क तथा कमिशन आम्दानीमा भएको उल्लेखनीय वृद्धि, खुद ब्याज आम्दानीमा सुधार र प्रतिशेयर आम्दानीमा आएको वृद्धिले बैंकको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा थप बलियो बनेको संकेत देखिएको छ ।


विश्व खबर 




















