काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले वर्तमान सरकार पर्यटन क्षेत्रको समग्र विकासका निम्ति सक्रिय रूपमा लागिपरेको बताए।
उनले पर्यटन क्षेत्रको विकासमा देखिएका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको उल्लेख गर्दै निजी क्षेत्रसँगको साझेदारीमार्फत राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापन सुरु गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।
फरक प्रसङ्गमा उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक–निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने सरकारको योजना रहेको बताए।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै पर्यटन, उड्डयन र आतिथ्य क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउनेतर्फ सरकार अघि बढिरहेको मन्त्री पौडेलको भनाइ थियो।


विश्व खबर 




















